सर्वाधिक पुरस्कारको केटीएम रन हुने


काठमाडौं । सर्वाधिक पुरस्कार राशीको केटीएम रन माघ १५ गते आयोजना हुने भएको छ । शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केटीएम रन टेन केको मिति सार्वजनीक गरेको हो । हरेक अंग्रेजी नयाँ वर्षको अन्तिम शनिबार आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको १० किलोमिटरको केटीएम रन सर्वाधिक पुरस्कार राशीको रहेको छ ।
महिला र पुरुष गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ । सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहित आवश्यक सामाग्री उपलब्ध गराउने बताईएको छ । खेलाडी दर्ता पुस २९ गतेबाट सुरु भएर माघ १३ गते दिउँसो १ बजेसम्म रहने छ । खेलाडीले अनलाईनमा केटीएम रन डट कममा गएर नाम दर्ता गर्न सक्नेछन् । केटीएम सिटीको जावलाखेल, ठमेल, दरबारमार्ग, बौद्ध र पुरानो बानेश्वरस्थित आउटलेटमा गएर समेत खेलाडीले पुस २९ बाट नाम दर्ता गर्न सक्नेछन् ।
काठमाडौंको दरबारमार्गबाट सुरु हुने दौड भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुने बताईएको छ ।
केटीएम रनका रेस डिरेक्टर शुशील नरसिंह राणाले १० किलोमिटर दौडको आयोजनाबाट खेलाडीलाई अधिकतम भन्दा अधिकतम फाइदा पुग्ने बताए । ‘खेलाडीले म्याराथन वर्षमा तीन पटक भन्दा धेरै दौडन सक्दैन । तर १० किलोमिटरको दौड ६ पटक भन्दा बढी दौडन सक्छ । यसले खेलाडीलाई एक्सपोजर पनि मिल्छ साथै म्याराथनका लागि खेलाडी तयार पनि हुन्छ ।’ उनले भने ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दौडको अनुभव बोकेका राणाले केटीएम रनलाई रेस डिरेक्टरको रुपमा प्राविधिक रुपमा नेतृत्व गर्नेछन् । प्रतियोगिताको प्राविधिक निर्देशकमा राजन खत्री रहेका छन् ।
केटीएम रनका म्यानेजर आशिष पौडेलले गौरवमय इतिहास बोकेको एथलेटिक्स प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपालको ब्राण्ड केटीएम सिटीले घरेलु खेलकुदको समग्र विकासमा सहयोग पुर्याउने उद्धेश्यले योजनाबद्ध तरिकाले अघि बढिरहेको बताए ।

Comment