स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौँका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधवार नगद पुरस्कार प्रदान गरेका  छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौँले मात्र ४ स्वर्ण जितेको थियो । तिनै ४ स्पर्धाका ६ स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।
व्यक्तिगत स्पर्धामा स्वीकार रजक, सुस्मिता मोक्तान र रञ्जित साउद तथा समूहगत पुम्सेमा स्मृति नेपाली, मोनिका रम्तेल र मोनिका मगरले स्वर्ण जितेका थिए । चारै स्वर्णका लागि समान ५–५ हजार नगद पुरस्कार प्रदान गरियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकाल, बाग्मती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले स्वर्ण विजेतालाई एक कार्यक्रमबिच पुरस्कृत गरे । सोही अवसरमा उक्त प्रतियोगितामा रजत र कांस्य पदक जित्न सफल काठमाडौँका खेलाडीलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । टिम प्रशिक्षक त्रय गौरव रजक, रञ्जन श्रेष्ठ र कमल श्रेष्ठ पनि प्रशंसा पत्रबाट सम्मानित   भए ।
त्यस अवसरमा काठमाडौँ जिल्लाका विभिन्न ११ नगरपालिकामा तेक्वान्दोको विकास र विस्तारका लागि काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले आफ्ना कार्यसमितिका पदाधिकारीलाई संयोजक तोक्दै पत्र पनि हस्तान्तरण गरेको छ । । संखरापुरमा घनश्याम कार्की र मुना खवास, कागेश्वरी मनोहरामा घनश्याम कार्की, गोकर्णेश्वरमा शारदा धिमाल, बुढानीलकण्ठमा गणेश तामाङ, टोखामा कविता श्रेष्ठ, तार्केश्वरमा सानुबाबु महर्जन, काठमाडौँमा राजेन्द्र पुजारी, नागार्जुनमा सरोज बास्कोटा, चन्द्रागिरिमा प्रदीप आले, दक्षिणकालीमा मनोजकुमार शाह र कीर्तिपुरमा दश रत्न शाहीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले विभिन्न समिति गठन गर्दै संयोजकलाई पनि सोही कार्यक्रममा पत्र हस्तान्तरणगरेको छ । प्रतियोगिता समितिमा सरोज बास्कोटा, ग्रेडिङ समितिमा मनोजकुमार शाह, निर्णायक समितिमा अशोक खड्का, जिल्ला टिम तयारी समितिमा गौरव रजक, अनुशासन तथा अनुगमन समितिमा गणेश तामाङ र आर्थिक समितिमा शारदा धिमाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा सगरमाथा तेक्वान्दो डोजाङ, युकेका प्रशिक्षक धिरज गुरुङले प्रायोजन गरेको २५ थान कुर्सी पनि काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घलाई हस्तान्तरण गरिएको थियो ।
Comment