अर्घाखाँचीमा प्रथम राष्ट्रिय रोड रेस हुँदै

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा न: दुईमा प्रथम राष्ट्रिय अर्घाखाँची रोड रेस २०७८ आयोजना हुने भएको छ । स्पोर्ट्स भ्वाइस म्यागेजिन तथा अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घको संयुक्त आयोजनामा १६ र १७ माघमा सो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा एक किलोमिटर वाकनाथ, खुल्ला ५ किलो मिटर, भेट्रान्स ५ किलोमिटर र विद्यालय तहको उमेर समूहको स्पर्धा समावेश गरिएका छन् । एक किलोमिटर वाकाथनलाई जनताको दौड नाम दिइएको हो ।
यस प्रतियोगितामा सबैलाई आफ्नो उपस्थितिको महसुस होस् भन्ने ध्येयले स्पर्धामा समावेश गरिएको आयोजक कमिटीका प्रमुख पृथ्वी थापाले जानकारी दिए । यस वाकाथनमा कार्यक्रमका प्रमुख अतिथि, अतिथि लगायत सबैको समावेश  रहने छ ।
कार्यक्रमको कुल लागत १० लाख रुपैयाँ रहेको छ । कार्यक्रमको सफलतामा भुमिकास्थान नगरपालिका र ब्लु क्रस अस्पतालको भूमिका अतुलनीय रहने जनाइएको छ । साथै अर्घाखाँचीका सबै स्थानीय निकाय र प्युठानका केही स्थानीय निकायको सहयोग रहने  अपेक्षा आयोजकको छ । यसै गरी, अघाँखाँचीमा स्थापित उद्योग, सङ्घ संस्था र व्यक्तिबाट पनि सहयोगका अपेक्षा रहेको थापाले बताए । प्रतियोगिताले अन्तर्राष्ट्रिय क्षेत्रमा अर्घाखाँचीको चिनारी बढाउने तथा त्यहाँको पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । अर्घाखाँचीका सुपा देउराली लगायत पर्यटकीय र  सांस्कृतिक पहिचान बोकेका स्थानलाई राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा देशमा प्रबुद्ध खेल व्यक्तित्वहरूको उपस्थिति रहने छ भने विविध सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिने छ ।
Comment