जुम्ल्याहा दाइ भाइलाई स्वर्ण


जुम्ल्याहा दाइ भाइ राम र लक्ष्मण गोलेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् ।
बाग्मती प्रदेश तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् । एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोस्रो भए । लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेषराज सुनार तथा नेपाल आर्मीका रोशनी श्रेष्ठ र अस्मिन राईको जोडी तेस्रो भए ।
लक्ष्मणले सिनियर पुरुष एकल पुम्सेमा पनि स्वर्ण जिते । उनले लुम्बिनीका युवराज लामालाई पछि पारे । आयोजक ‘ए’ र ‘बी’ का क्रमशः पुष्पप्रसाद गौतम र मुहम्मद उमर खान संयुक्त रूपमा तेस्रो बने । सोही स्पर्धाको महिलामा आर्मीकी रश्मि श्रेष्ठ पहिलो, एपीएफकी चन्दु शाही दोस्रो तथा लुम्बिनीकी सुनिता विष्ट र आयोजक ‘ए’ की रङ्गिला रोका तेस्रो स्थानमा रहे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सिनियर ग्रुप पुम्सेमा आर्मीका रोशनी श्रेष्ठ, अस्मिन राई र स्मृति थापा सम्मिलित टोली पहिलो भयो । प्रहरी दोस्रो भयो भने आयोजक ‘ए’ र लुम्बिनी तेस्रो बने ।
जुनियर ग्रुप पुम्सेमा आयोजक ‘ए’ का मोनिका मगर, मोनिका रम्तेल र स्मृति नेपालीले शीर्ष स्थान कब्जा   गरे । आयोजक ‘बी’ दोस्रो तथा गण्डकी प्रदेश तेस्रो भए । जुनियर पुरुष एकल पुम्सेमा आयोजक ‘बी’ का श्रृजल श्रेष्ठले स्वर्ण, आर्मीका सुजन श्रेष्ठले रजत तथा कर्णाली प्रदेशका दिनेश मगर र प्रदेश १ का निङमा तामाङले कांस्य हात पारे । जुनियर महिला एकल पुम्सेमा आयोजक ‘बी’ की जैनव खातुन पहिलो, आयोजक ‘ए’ की मोनिका रम्तेल दोस्रो तथा प्रदेश १ की शान्ति राई र एपीएफकी रोशनी सिलवाल तेस्रो भए ।
जुनियर पेयर पुम्सेमा आयोजक ‘ए’ का अब्बास अन्सारी र जैनव खातुन पहिलो, प्रदेश १ का निङमा तामाङ र शान्ति राई दोस्रो तथा आयोजक ‘बी’ का योगुन राई र हिमाल अधिकारी तथा आर्मीका रिता श्रेष्ठ र सुजन श्रेष्ठ तेस्रो भए ।
प्रतियोगिताको बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले एक कार्यक्रमबिच उद्घाटन गरे । प्रतियोगितामा आयोजक, सातै प्रदेश र तीन विभागीय टोलीका ३ सय ३० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक सङ्घका अध्यक्ष केशव पुरीले जनाएका छन् । प्रतियोगिता शनिवार सम्पन्न हुने छ ।

Comment