मेयर कप राष्ट्रिय तेक्वान्दो शुक्रवारदेखि

बाग्मती प्रदेश तेक्वान्दो सङ्घको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराए ।
प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ ८ स्पर्धा समावेश छन् । ग्योरोगीतर्फ उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।  प्रतियोगितामा ३ सय ३० खेलाडी सहभागी हुने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख १ हजार २ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदेश टोलीको यातायात, खाना र बसोबास खर्च आयोजकले व्यहोर्ने अध्यक्ष पुरीले बताए । प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौँ महानगरपालिका रहेको छ । अन्य प्रायोजकमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र नागार्जुन नगरपालिका छन् ।
पत्रकार सम्मेलनमा प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष प्राध्यापक प्रकाश खड्गी, प्रदेश तेक्वान्दो सङ्घका महासचिव हरिहर ढुङ्गाना, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति थियो । दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेलाइने छ ।

Comment