दीप, अमर, शिव र पुरुषोत्तम सेमिफाइनलमा

rabina
नेपाल प्रहरीका दीप साउन र अमरलाल मल्ल तथा एपीएफका शिवसुन्दर गोथे र पुरुषोत्तम वज्राचार्य प्रथम कला बोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा दीपले नेपाल आर्मीका प्रज्ज्वल श्रेष्ठलाई ९–११, ११–६, ११–२, ११–५ र ११–६, अमरले एपीएफका चन्दन शाहीलाई १३–११, ११–९, ११–६ र ११–६, शिवले प्रहरीका मणिकुमार लामालाई ११–७, ११–६, ११–१ र ११–५ तथा पुरुषोत्तमले ललितपुरका सुनील महर्जनलाई ११–६, ४–११, १३–१५, ११–३, ११–२ र ११–३ को सेटमा पराजित गरे । सेमिफाइनल दीप र अमर तथा शिव र पुरुषोत्तमबीच हुनेछ ।
सिनियर महिला सिंगल्समा एलिना महर्जनले कास्कीकी काजोल रौनियारलाई ५–११, १२–१०, ९–११, ११–६, ११–६, २–११ र ११–४, प्रहरीकी रविना महर्जनले प्रहरीकै एरिका महर्जनलाई ११–९, ११–५, ११–५ र १२–१०, प्रहरीकी स्वेच्छा नेम्वाङले एपीएफकी सेलिशा खड्गीलाई ११–४, ११–५, ११–८, ६–११ र ११–३ तथा प्रहरीकी नवीता श्रेष्ठले सुनसरीकी अपेक्षा शाक्यलाई ५–११, ११–८, ११–५, ११–४ र ११–५ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा एलिनाको भेट रविनासंग हुनेछ भने स्वेच्छाले नविताको सामना गर्ने छिन् ।
जुनियर पुरुष सिंगल्सको सेमिफाइनल आर्मीका श्यान्टू श्रेष्ठ र मोरङका करण राई तथा रुपन्देहीका नारायण घिमिरे र आर्मीका कृष्ण थापा मगरबीच हुनेछ । त्यस्तै जुनियर महिला सिंगल्समा ललितपुरकी दीक्षा तामाङले सुनसरीकी दीक्षा दाहाल तथा रुपेन्देहीकी गीता अर्यालले एपीएफकी सोनु थापा मगर विरुद्ध सेमिफाइनल खेल्नेछन् । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

Comment