बहु आयामिक इमानदार व्यक्तित्व

 मनिस जोशी, बहुमुखी प्रतिभाका धनी । तेक्वान्दो, भेट्रान एथलेटिक्स र फुटबलमा उत्तिकै सक्रिय उनी नेपाल फुटभली एसोसिएसनका अध्यक्ष समेत छन् । यत्ति मात्र होइन राजनीतिमा पनि उनको सक्रियता त्यत्तिकै छ । बि.स २०४६ साल देखि नेपाली काँग्रेसमा आबद्ध उनी त्यस क्षेत्रमा पनि आफ्नै बल बुतामा धेरै गर्न चाहन्छन् । परन्तु गुटगत राजनीति हाबी सो पार्टीमा आफ्नै बुतामा केही गर्न कठिन हुने कुरा उनले स्विकारी सकेका छन् ।
दिल्ली एसियाडमा सहभागिता जनाएर एसियाडमा सहभागी पहिलो नेपालीको रूपमा कीर्तिमान कायम गरेका गजराज जोशीका छोरा मनीसका लागि बाबुकै नाम पनि आफूलाई खेलकुदमा चिनाउन काफी थियो । परन्तु उनी आफै केही गर्न उत्सुक थिए । सानोमा बाल प्रेमी क्लबमा रहँदा एथलेटिक्स र कराँते दुवै खेल खेलेका उनी फुटबलमा सक्रिय थिए । १४ वर्षकै उमेरको यो सक्रियताले उनलाई व्यावसायिक र नाम चलेका खेलाडीको रूपमा स्थापित त सायद गराउन सकेन होला, तर नेपालका कुशल खेल नेतृत्वको रूपमा भने स्थापित भए ।
उनकै नेतृत्वमा टोखा भगवती क्लबे लामो यात्रा तय गरेको छ । बी डिभिजन सो क्लबमा अहिले उनले अध्यक्षको भूमिकामा त छैनन् । तर, पूर्व अध्यक्षको रूपमा हालको कमिटीलाई सहयोग गरी रहेका छन् ।
उनको खेल प्रतिको लगाव र मेहनतलाई तेक्वान्दो परिवारले पनि स्वीकारेको छ । यसै कारण उनी नेपाल तेक्वान्दो सङ्घको सदस्यको रूपमा अहिले जिम्मेवारी पुरा गरी रहेका छन् । नेपाली खेलकुदमा तेक्वान्दोको महत्त्वपूर्ण स्थान रहेको र त्यस परिवारले आफूलाई स्वीकार गर्दा गर्वको महसुस भएको मनीस बताउँछन् । भेट्रान धावकको रूपमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी उनले फुटभली सङ्घलाई कुशल नेतृत्व दिई रहेका छन् ।
सरल, मिजासिला र सहयोगी मनीसको रुचि भनेकै समाजमा केही राम्रो काम गर्ने हो । जीवनलाई हेर्ने र सोच्ने उनको पृथक् शैली छ । व्यावसायिक रूपमा सन्तुष्टि उनमा राज्य र समाज प्रति केही गुनासो नभएको होइन । बाबु गजराजले यो देसलाई गरेको योगदानलाई राज्यले नजर अन्दाज गरेको उनको पनि मत छ ।
बाबुको नाममा राज्यले केही गर्नै पर्ने भए पनि यो विषयमा सबै मौन रहेकोमा उनको गुनासो पनि छ । ‘ मेरो बुवा धेरै युवाका लागि खेलकुदमा लाग्ने प्रेरणा बन्नु भयो । तर, यो देशले जत्ति सम्झनु पर्ने हो , त्यत्ति नसम्झेको महसुस हुन्छ । ’ उनले गुनासो गरे ।
अहिले पनि खेलकुद र समाजसेवामा सक्रिय हुन चाहन्छन् । यसैका लागि राजनीतिमा पनि सक्रिय रहे । तर, उनलाई अहिले राजनीति सेवामुखी भन्दा सुविधा मुखी भएकोमा त्यत्तिकै दुखी छन् । ‘ अरू पेसा गरेर राजनीति त अरूलाई सहयोग गर्न र समाजसेवा गर्न पो गर्ने हो । ’ अहिलेको प्रवृत्ति प्रति गुनासो गर्दै उनी भन्छन् ।
त्यसो त नेपाली खेलकुदका कुनै पनि जिम्मेवार निकायमा मनीस जोशीको उपस्थिति हुनु नै  इमानदार र आदर्श व्यक्तित्वको सम्मान पनि हो । आशा गरो, उनले अझ महत्त्वपूर्ण जिम्मेवारी पाउने छन् । उनकै जिम्मेवारीले नेपाली प्रशासनिक र व्यवस्थापकीय क्षेत्रमा इमानदार व्यक्तिको दिन फिरेको महसुस धेरैलाई होस् ।
Comment