सिल्क ग्रुप र टेलिकम फाइनलमा

सिल्क ग्रुप र नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैङ्क काठमान्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रितको फाइनलमा प्रवेश गरेका छन् ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल बिद्युत् प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाइनल प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनु माया राईले जित हात पारे । विकासले बिद्युत्का दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले बिद्युत्की शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरे । तेस्रो खेलमा बिद्युत्का श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गरे । यस्तै खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनु माया राई र ताशी शेर्पाको जोडीले बिद्युत्का शोभा गौचन र याम कुमारी गुरुङको जोडीलाई २१–१३, २१–१९ले हराए ।
काठमाडौँ ब्याडमिन्टन एकेडेमीको आयोजना नेपाल ब्याडमिन्टन सङ्घ र काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घको सहयोगमा भएको च्याम्पियनसिपमा नेपाल आईल कर्पोरेसन र नेपाल टेलिकम बिच भएको खेलमा टेलिकमले बाजी मार्दै फाइनलमा सिल्कसँगको भेट पक्का गरेको हो । पहिलो खेलमा टेलिकमका रत्नजित तामाङले आईल कर्पोरेसनका विष्णु कटुवाललाई २१–७, २१–१०ले पराजित गरे । दोस्रो खेलमा आईल कर्पोरेसनकी रसिला महर्जनले टेलिकमकी सीमा राजवंशीलाई २१–१२, २१–८ ले पराजित गरे पछि खेल रोमाञ्चक मोडमा पुगेको हो । तेस्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आईल कर्पोरेसनका लक्ष्मण विश्वकर्मा र राम विश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गरेको हो । आईल कर्पोरेसनका रसिला महर्जन र शर्मिला कटुवालको जोडीले टेलिकमका जे.टी.गुड्डी कार्की र सीमा राजवंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले पराजित गरे पछि अन्तिम खेलबाट यी दुई बिचको हार जितको टुङ्गो लागेको हो ।
पाँचौँ तथा अन्तिम खेलमा टेलिकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङको जोडीले आईल कर्पोरेसनका राम विश्वकर्मा र विष्णु कटुवालको जोडीमाथि २१–१८, २१–९ को जित हात पार्दै फाइनल यात्रा निश्चित गरेका हुन् ।
Comment