काठमाडौँ टिम च्याम्पियनसिपमा  विवाद

काठमाडौँमा जारी कुमारी बैङ्क काठमान्डु टिम च्याम्पियनसिपमा ठुलो विवाद भएको छ ।  बुधवार साँझ अबेरसम्म आयोजकको विरुद्धमा खेलाडीहरू आक्रोशित  थिए । काठमाडौँ ब्याडमिन्टन एकेडेमीका प्रमुख दीपक थापा प्रति धेरै खेलाडीको आक्रोश रहेको थियो ।  सो विवाद मिलाउन सङ्घ अधिकारी, आयोजक र खेलाडी साँझसम्म लागी परेका थिए ।
नेपाल ब्याडमिन्टन सङ्घका सदस्य दीपक थापा

काठमाडौँ ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिप विभिन्न कारणले विवादमा परेको छ । जुनियर तहका स्टार खेलाडी प्रीन्स दाहालको यस प्रतियोगितामा सहभागिता छैन । ब्याडमिन्टनको अन्तर्राष्ट्रिय महासङ्घको बरीयतालाई  समेत बेवास्ता गर्दै नेपाल ब्याडमिन्टन सङ्घले तयार गरेको अवैज्ञानिक बरीयताका कारण उनी सहभागिताबाट वञ्चित भएका हुन् ।

प्रतियोगितामा नेपाल  टेलिकम र सिल्क ग्रुप सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधवारको विवादको कारण भने एक खेलाडीलाई दबाब दिएर फेसबुक स्ट्याटस हटाउन लगाए पछि सुरु भएको थियो । प्रतियोगितामा सहभागी एक खेलाडीलाई मध्य रातमा फेसबुक स्ट्याटस हटाउन दबाब दिइएको  बुझिएको छ । ती खेलाडीले फेरी स्ट्याटस राख्दै यस पटक अन्य कसैको दबाब नस्विकार्ने उल्लेख गरेका थिए।

समाचार श्रोतका अनुसार तीनै खेलाडी एपीएफका साजन कृष्ण ताम्रकार खेल्नका लागि तयार भई सकेको अवस्थामा काठमाडौँ ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले फेसबुक स्ट्याटस डिलिट गर्न दबाब दिएका थिए । थापा सङ्घका केन्द्रीय सदस्य समेत हुन् ।
दबाबमा परेर स्ट्याटस हटाएका साजनको पिडालाई महसुस गर्दै खेलाडीहरूले एकताबद्धता जनाएका थिए । सो समयमा खेलाडीहरू एक बद्ध भएर साजनलाई साथ दिएका थिए ।
यस पछि नै खेलाडी र आयोजकका बिच विवाद बढेको हो ।घटनाको दौरान अन्य सबै संस्थाबाट खेलिरहेका खेलाडीहरू उपस्थित भएर थापा माथि चर्को मूल्य लिएको तथा प्रतियोगिताको नाममा आफैले व्यक्तिगत लाभ धेरै लिएको आरोप समेत लागेको थियो । यसै समयमा सेवा सुविधाका प्रश्न पनि उठाइएका थिए ।
 नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठको उपस्थितिमै थापाले क्षमा याचना गरेको श्रोतले जनाएको छ ।
Comment