काठमाडौँ महानगर टिम च्याम्पियन ,पनौती दोस्रो तथा गोदावरी तेस्रो


काठमाडौँ महानगरपालिकाले दोस्रो बागमती स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा  काठमाडौँ समग्रमा टिम च्याम्पियन बन्यो ।
जैशीदेवल यूथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका दोस्रो भयो । तेस्रो स्थानको गोदावरी नगरपालिकाले ३ स्वर्ण र ३ कांस्य हात पा¥यो ।
प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा आयोजक ‘ए’ का राहुल लिम्बू तथा महिलामा कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौँ महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत पुम्सेको पुरुषमा श्रृजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । पुम्सेमै पेयर विधामा स्वर्ण जितेका नागार्जुन नगरपालिकाका आशिष श्रेष्ठ र मोनिका मगर संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा काठमाडौँका गौरव रजक उत्कृष्ट प्रशिक्षक बने । निर्णायकको पुरुषमा कागेश्वरीका भीम तुम्बापो र महिलामा काठमाडौँकी वन्दना राई उत्कृष्ट ठहरिए । पेयरमा उत्कृष्ट भएका बाहेक सबै उत्कृष्टले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाए । पेयरका उत्कृष्टलाई जनही ५०–५० अमेरिकी डलर प्रदान गरियो ।
विजेतालाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । उत्कृष्टको सबै पुरस्कार शुद्धोदनमान रञ्जित र रिता श्रेष्ठ रञ्जितले प्रायोजन गरेका हुन् । त्यस्तै २० वटै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारका लागि नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले सहयोग गरेका हुन् ।
दुई दिने प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक क्लबका सदस्य एवं प्रचार प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जनाएका छन् ।

Comment