विधान र विशालको जोडीलाई हरिसिद्धि ब्याडमिन्टन उपाधि


कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि उचालेका छन् । उक्त जोडीले प्रयाग पोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधि उचालेका हुन् । विधान र विकासको जोडीले पविन र सुरोजको जोडीलाई बाह्रबिसे कपमा पनि पराजित गर्दै उपाधि उचालेका थिए ।
विजयी जोडीले ५० हजार नगद मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उप विजयी जोडीले २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका बुटवलका विश्वास नेपाल र गणेश रायमाझी तथा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले नगद १० हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
हरिसिद्धिस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १९ तर्फको प्रतिस्पर्धामा सिक्सटिन फिदरका क्षितिज खनालले उपाधि हत्याए । उनले बालकुमारी रिमिक्स क्लबका आयुष्मान् नागरीलाई २१–१२, २२–२० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । विजयी खनालले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उप विजयी नागरीले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तृतीय स्थान प्राप्त गरेका सूर्य दर्शन ब्याडमिन्टन क्लबका सन्तोष पनेरु र क्लब सेभेनका डेभिड थापा मगरले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै महिला यु १९ तर्फ योङ्गुबहालकी रोज पाण्डेले उपाधि जितिन् । उनले बालकुमारी रिमिक्स क्लबकी प्रार्थना देउवामाथि २१–१८, २१–१४ को सहज जित निकालिन् । विजयी पाण्डेले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै उप विजयी देउवाले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । तृतीय स्थान प्राप्त गर्ने धादिङकी बविता पुरी र भिन्छेबहालकी कृष्मा बज्राचार्यले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
चार दिन सम्म सञ्चालन भएको भेट्रान युगल तर्फ पिएफसीका सञ्जय कपाली र श्याम लामाको जोडी तथा कास्कीका दलराज आले र मनबहादुर रानाको जोडी बिच भएको प्रतिस्पर्धामा सञ्जय र श्यामको जोडीले जित निकाले । उक्त जोडीले २१–१९, २१–१८ को जित हात पारेको हो । विजयी टोलीले नगद ३० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उप विजयी जोडीले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने आईबिएससीका लक्ष्मण बि.सी. र दिलबहादुर कदङ्गवाको जोडी तथा कालिका क्लबका लोकेश्वर भक्ति र पूर्ण श्रेष्ठको जोडीले नगद प्रत्येक टिमले ७ हजार ५ सय, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
१५ लाख अनुमानित लागत रहेको प्रतियोगितामा यु १९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथि गर चार विधामा प्रतिस्पर्धा भएको थियो । यु १९ पुरुष एकल तर्फ ५० खेलाडी, महिला एकल तर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ वर्ष माथि २१ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पुरस्कार वितरण गरेकी थिइन् ।

Comment