उमा कुङफु टोली बैंकक जाने

uma kongfu
थाइल्यान्डको बैंककमा हुने प्रथम विश्व मार्सल आर्ट गेम्समा सहभागी हुन नेपाली उमा कुङफु टोली थाइल्यान्डको बैंकक जाने भएको छ ।
विश्व मार्सल आर्ट काउन्सिलको आयोजनामा मार्च १२ देखि २२ तारिखसम्म हुने च्याम्पियनसिपको ताइचीतर्फ मणिराज मिक्छान, प्रज्ञा केसी र रमन राई चाम्लिङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
त्यस्तै सान्डाको ७५ केजीमा प्रकाश खत्री, ८० केजीमा अमिन तामाङ, ४० केजीमा विकास लामा , आयुष्मा श्रेष्ठ र देव देवकोटा, ६५ केजीमा दावा लामा, ३५ केजीमा श्रृष्टि श्रेष्ठ र सुवास अधिकारी तथा ५१ केजीमा सुहान श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
टोली नेता तथा प्रशिक्षकमा उमा कुङफु संघका महासचिव अनिमेशलाल श्रेष्ठ, व्यवस्थापकमा उमा कुङफु संघका सचिव सिद्धार्थ लामा तामाङ तथा अफिसियलमा संघका अध्यक्ष उद्धव थापा मगर रहेका छन् । सुकमान लामाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
उमा कुङफुले विदेशी भूमिमा कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको यो पहिलो अवसर भएको संघले जनाएको छ । गत मंसिरमा काठमाडौंमा भएको प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिपमा भने उमा कुङफुका खेलाडीले भाग लिएका थिए ।
१२ खेलाडीसहित १६ सदस्यीय टोली मध्ये ५ जना मणिराज, प्रज्ञा, सिद्धार्थ, रमन र अनिमेश बुधबारै बैंकक जाने छन् । बाँकी शुक्रबार जाने कार्यक्रम छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ (बिके) ले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment