सुरोज र पविनको जोडी सेमिफाइनलमा


प्रयाग पोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को सेमिफाइनलमा प्रवेश गरेका छन् । पविन र सुरोजको जोडीले साईनोका अभिषेक बोस र सुजन थापाको जोडीलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडी सँगको भेट पक्का गरे । नेपाल र रायमाझीको जोडीले आयोजकका विकास महर्जन र रदीप महर्जनको जोडीलाई २१–१८, १९–२१, २१–५ ले पराजित गरे । यस्तै अर्को खेलमा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै फाइनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र विशाल खड्कासँगको भेट पक्का गरे । विधान र विशालले बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडीलाई २१–१३, २१–१७ ले पराजित गर्दै सेमिफाइनल स्थान बनाए ।
हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको महिला यु १९ तर्फ यङ्गुबहाल यूथ क्लबकी रोज पाण्डेले रिभाईभकी अनिता तामाङलाई २१–८, २१–२ ले पराजित गर्दै फाइनल प्रवेशका लागि धादिङकी बविता पुरी सँगको भेट पक्का गरिन् । बविताले १६ फिदरकी रिहाना शेरचनलाई २१–१९, १७–२१, २१–१६ ले पराजित गरिन् । यस्तै भिन्छेबहालकी कृष्मा बज्राचार्यले फाइनल प्रवेशका लागि बालकुमारी रिमिक्सकी प्रार्थना देउवा सँगको भेट पक्का गरिन् । कृष्यमाले रामेछापकी रिम्शा तामाङलाई २१–९, २१–११ ले तथा प्रार्थनाले कास्कीकी शीतल के.सी.लाई २१–७, २१–८ ले पराजित गरेका हुन् ।
पुरुष यु १९ तर्फको खेलमा बालकुमारी रिमिक्सका आयुष्मान् नागरीले आयोजकका विवेक चौधरीलाई २१–१७, २१–१४ ले पराजित गर्दै सेमीमा स्थान पक्का गरे । उनले अव सूर्य दर्शन ब्याडमिन्टन क्लबका सन्तोष पनेरुको सामना गर्ने छन् । सन्तोषले नव जागृति क्लबका स्वयं मानन्धरलाई २१–१२, २१–१४ ले हराए । यस्तै क्लब ७ का डेभिड थापा मगरले आयोजकका निखिल भट्टलाई २१–१९, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यसै गरी सिक्सिटिन फिदरका क्षितिज खनाल र कास्कीका विधान अधिकारीबिच भएको खेलमा खनालले बाजी मारे । उनले १६–२१, २१–१४, २१–११ को जित निकालेका हुन् ।

Comment