पौडी टोली अबुधावी तर्फ, छनोटमा सहभागी नभएका एलेक्स पनि टोलीमा


पन्ध्रौँ विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ ।
डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषको २ सय मिटर फ्रिास्टाइल र व्यक्तिगत मिड्लेमा नासिर हुसेन तथा ५० र १ सय फ्रिास्टाइलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्ने छन् । महिलाको ५० र १ सय मिटर फ्रिास्टाइलमा अनुश्रिया तण्डुकार तथा ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा उपास्थी महर्जनले सहभागिता जनाउने छन् । अमेरिकामा रहेका एलेक्स त्यतैबाट आबुधाबी जाने नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।
प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनीश महर्जन रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आइतबार एक कार्यक्रमबिच बिदाइ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नयाँ उपलब्धि हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताउँदै खेलाडीले व्यवस्थापनमा नभई आफ्नो खेल र प्रशिक्षण तिर मात्र ध्यान दिन आवश्यक रहेको बताए । उनले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए ।
एलेक्स नेपालमा भएको छनोट खेलमा सहभागी थिएनन् । छनोटमा सहभागी नभएका खेलाडी विश्व च्याम्पियनसिपमा सहभागिता गराउनुलाई पौडी सङ्घको विवादास्पद कार्य मानिएको छ ।
Comment