अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल सम्मानित


लोक जनमैत्री बचत तथा ऋण सहकारी संस्था, बिराटनगर–१२ ले आफ्नो १२औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित कार्यक्रममा वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर तथा राष्ट्रिय रेफ्री उदय अर्याल लाई विशेष सम्मान गरेको छ । सो सम्मान कार्यक्रममा अर्याललाई फुलमाला, शल, खादा लगाई कदर–पत्र सहित सम्मानित गरिएको थियो ।
अर्याल जनमैत्री साकोसको संस्थापक सदस्य हुन् । केही समय अघि जापानको टोक्योमा सम्पन्न ‘टोक्यो २०२०, पारालिम्पिक गेम्स ब्याडमिन्टन’ मा नेपाल को प्रतिनिधित्व गर्ने पहिलो नेपाली बन्न सफल भएको हुँदा सम्मान गरिएको हो । उनले पारालिम्पिक गेम्स को प्रथम चरण देखि फाइनल सम्म गरि १७ वटा म्याचहरुमा सहभागी भएका थिए । साकोसकी अध्यक्ष सीता लामिछानेले आफ्नो संस्थाको संस्थापक सदस्य अर्यालले ओलम्पिक जस्तो खेलकूद को महाकुम्भ मा गरिमामय सहभागिता जनाउन सफल हुनुभएकोमा साकोस परिवार अत्यन्त गौरवान्वित भएको कुरा बताइन् । साकोसका सचिव नरेन्द्र भण्डारीले ब्याडमिन्टन खेलको विकासमा लामो समय देखि लाग्नु भएको वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर अर्यालले ओलम्पिकमा राष्ट्रको प्रतिनिधित्व गर्नु हुँदा यस क्षेत्र कै शिर गर्वले ठाडो भएको कुरा बताए ।

Comment