सदस्य–सचिवलाई बक्सिङको बधाई


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टङ्कलाल घिसिङलाई नेपाल बक्सिङ सङ्घले मङ्गलवार बधाई दिएको छ । त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भेटी बक्सिङ सङ्घका पदाधिकारीले बधाई दिएको हो ।
नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, बक्सिङका वरिष्ठ उपाध्यक्ष समेत रहेका राखेपका पूर्व सदस्य अर्जुनबहादुर केसी, प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र सङ्घ सदस्य मन बहादुर भण्डारी लगायतले सदस्य–सचिव घिसिङलाई कार्यकाल सफलताका लागि शुभकामना दिँदै बधाई दिए । सो अवसरमा अध्यक्ष अवालेले सदस्य–सचिव घिसिङलाई बधाई पत्र पनि प्रदान गरेका थिए ।
अध्यक्ष अवाले, प्रवक्ता श्याम अवालेलगायतले बक्सिङले हासिल गरेको उपलब्धि, अन्तर्राष्ट्रिय सहभागिता, घरेलु गतिविधि, प्रशिक्षणको अवस्था, प्रशिक्षण स्थल, भावी कार्यक्रमलगायतका विषयमा जानकारी गराएका थिए ।
सदस्य–सचिव घिसिङले ट्रेनिङ हल उपलब्ध गराउने विषयमा तत्काल बुझेर प्रक्रिया अगाडि बढाउने बताउँदै बाँकीको हकमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Comment