बाह्रबिसे कपको उपाधि रत्न र रसिलालाई

सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्न जित तामाङले जितेका छन् । सेनाको वर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नवीन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि जितेका हुन । रत्नले उपाधिका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएका नवीनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
मङ्सिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रसिला महर्जनले सेनाकै अमिता गिरीमाथि को जित निकाल्दै उपाधि कब्जा गरिन् । उनले उपाधि हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन् । रसिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
उच्च २० बरीयतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका विधान अधिकारी र विशाल खड्काले उपाधि जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधि उचालेका हुन् । पुरुष युगल तर्फ विजयी र उप विजयी खेलाडीहरूले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।
भेट्रान्स ४५ वर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेस क्लबका सञ्जय कपाली र श्याम लामाको जोडीले तनहुँका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे । विजेता तथा उपविजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।
जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् । पहिलो र दोस्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यस अघि आजै भएको सेमिफाइनलमा सेनाका रत्न जितले सेनाकै प्रफुल महर्जनलाई २१–१७, २१–१९ को जित निकाल्दै फाइनल प्रवेश गरेका थिए । यस्तै नवीनले बरीयतामा दोस्रो स्थानमा रहेका एपिएफका दीपेश धामी माथि ९–२१, २१–१५, २१–१६ को जित निकाल्दै रत्नसँगको भेट पक्का गरेका थिए । तृतीय स्थान प्राप्त गरेका प्रफुल महर्जन र दीपेश धामी प्रत्येकले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
महिला एकल तर्फ सेनाकै अमिता गिरी र रसिला महर्जन फाइनल प्रवेश गरे । अमिताले नेपाल पुलिसकी निता लम्साललाई २१–२३, २१–१०, २१–१२ ले तथा रसिलाले सेनाकै अनु माया राईलाई २१–१४, २१–१४ को समान अन्तरमा पराजित गरे । तृतीय स्थान प्राप्त गर्ने निता र अनु माया प्रत्येकले नगद १२ हजार ५ सयका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।
सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानी बारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडीलाई २१–१०, २१–१५ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । यस्तै फाइनल प्रवेश गर्ने क्रममा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले पनि जित निकाल्यो । उक्त जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१२, २१–११ को सेटमा पराजित गरेका थिए । तृतीय हुने सुशील र विवेकको जोडी तथा ससिन र सुमितको जोडीले २५ – २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
भेट्रान्स ४५ वर्ष माथिको खेलमा परफेक्ट फिटनेस क्लबका सञ्जय कपाली र श्याम लामाको जोडी तथा तनहुँका मनबहादुर राना मगर र देव बहादुर थापाको जोडी फाइनल प्रवेश गरे । कपाली र लामाको जोडीले बाह्रबिसेका कमल कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१०, २१–१४ तथा राना मगर र थापाको जोडीले बाह्रबिसेकै रविन बमजन र वेद बहादुर श्रेष्ठको जोडीलाई २२–२४, २१–१२, २१–१२ ले पराजित गरेका थिए ।
जिल्लास्तरिय पुरुष युगल तर्फको स्पर्धामा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडीले फाइनलमा स्थान बनाएका थिए । श्रेष्ठ द्वयको जोडीले मेलम्चीका किसान दुलाल र राजन श्रेष्ठको जोडीलाई २१–१९, २१–१६ ले तथा गुरुङ र शेर्पाको जोडीले बलेफीका अजय तामाङ र पुलिसका पूर्ण बहादुर थापाको जोडीलाई २०–२२, २१–१४, २१–१९ ले पराजित गरेका थिए ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका मेयर निमाफुञ्जी शेर्पा, उपमेयर सुशीला पाख्रिन, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरस्कार राशि ५ लाख ५० हजार रहेको थियो ।
Comment