कार्कीको २ सय २५ किलोमिटर दौड

लामो दूरीका धावक राम सुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदाम चौर, कार्की टार, हनुमान मन्दिरदेखि जनकपुरको राम जानकी मन्दिरसम्म दौडने भएका छन् ।
गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् । मङ्सिर २० गतेदेखि सुरु हुने छ । पहिलो दिनको दौड नेपाल थोकमा पुगेर टुङ्गिने छ । दोस्रो दिनको दौड यात्रा कमलामाई नगरपालिकासम्म हुने छ भने तेस्रो तथा अन्तिम दिन जनकपुरको राम जानकी मन्दिरमा पुगेपछि दौड सम्पन्न हुने छ । दौड एकतर्फी मात्र हुने छ । कार्की तेस्रो पटक गोदाम चौरदेखि जनकपुरसम्म दौडन लागेका हुन् ।
कार्कीले विगतमा दौडको माध्यमबाट सङ्कलन भएको रकम विभिन्न सामाजिक कार्य सहयोग गरेको बताउँदै यस पटकको दौडको उद्देश्य आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो गदा निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको बताए ।
यसअघि कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगिसकेको छन् । त्यस्तै काठमाडौँ–लुम्बिनी ६ पटक, काठमाडौँ–दोलखा ३ पटक, काठमाडौँ सिन्धुली ३ पटक र काठमाडौँ–पोखरा १ पटक दौडिसकेको कार्कीले जानकारी गराए । साथै काठमाडौँदेखि मित्रराष्ट्र भारतको उत्तर प्रदेशको विहार राज्य तथा भुटानको फुन्सुलिङसम्म दौडिसकेका कार्कीले विभिन्न  प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका छन् ।
कार्कीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य अर्जुनबहादुर केसी, राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपाली लगायतकाले शुक्रवार एक कार्यक्रमबिच बिदाइ गरे ।
Comment