रत्न, नवीन, प्रफुल्ल र दीपेश बाह्रबिसे कपको सेमिफाइनलमा

सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
मङ्सिर १५ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकल तर्फ सेनाका रत्न जित तामाङ, नवीन श्रेष्ठ र प्रफुल्ल महर्जन तथा एपिएफका दीपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।
रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाइनलमा प्रफुल्ल महर्जनसँगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका नवीन श्रेष्ठले सेनाकै रुकेश महर्जन माथि २१–१२, २१–१५ को जित निकाले । नवीनले अव फाइनल प्रवेशका लाग एपिएफका दीपेश धामी सँग प्रतिस्पर्धा गर्ने छन् । धामीले पुलिसका विष्णु कटुवाललाई २१–१०, २१–१४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
पुरुष युगल तर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले अन्तिम चारमा स्थान बनाएका छन् । महर्जन र लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० को सेटमा पराजित गर्दै सेमीमा स्थान बनाएका हुन् । अव यस जोडीले बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडी सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गिरी र न्यौपानेको जोडीले साइनो स्पोर्टस् हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी रहेका छन् । सो जोडीले एपिएफका एसिया जवेगु र नवीन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाइनलमा बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । डङ्गोल र महर्जनको जोडीले बाह्रबिसेका अभिषेक गुरुङ र त्रिपुरा सुन्दरीका आषिश तामाङको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानी बारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा महिला एकल तर्फ सेनाकी अमिता गिरीले सेनाकै रोज पाण्डेलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिन् । अव अमिताले फाइनल प्रवेशका लागि पुलिसकी निता लम्सालको सामना गर्ने छिन् । लम्सालले एपिएफकी शोभा गौचनलाई २१–७, २१–१२ ले पराजित गरिन् । अर्को खेलमा सेनाकी रसिला महर्जनले एपिएफकी सुनैना मुखियालाई २१–९, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा सेनाकै अनु माया राई सँगको भेट पक्का गरिन् । राईले सेनाकै प्रेक्षा राईलाई २१–११, २१–१३ ले पराजित गर्दै सेमिफाइनल पुगेकी हुन् ।
प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल  शनिवार सम्पन्न हुने प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराएका छन् ।
५ लाख ५० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्ला स्तरीय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरूले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
Comment