नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव

     राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
       ‘नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी राख्दिन । हरदम त्यसैमा प्रयासरत रहने छु । रग्बीलाई पनि शून्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भए । त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढ्छु ।’– सदस्य–सचिव घिसिङले भने ।
       उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउँदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे ।
       ‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहिँ कदापि होइन ।’– उनले भने ।
उनले खेलाडी छनोट निष्पक्ष र पारदर्शी नहुन्जेल जति लगानी गरे पनि बालुवामा पानी हाले जस्तो मात्र हुने बताउँदै यसमा सम्बन्धित सङ्घ र प्रशिक्षकहरूले विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले प्रशिक्षकहरूलाई समय सापेक्ष परिष्कृत र स्तर वृद्धि गर्न रिफ्रेस कोर्स अति आवश्यक भएको बताउँदै त्यसका लागि विदेशी प्रशिक्षक झिकाएर वा प्रशिक्षकलाई विदेशमा पठाएर हुन्छ आवश्यक कदम चालिने बताए ।
उनले नतिजा मात्र खोज्नु भन्दा पनि कसरी राम्रो नतिजा आउँछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेकोमा जोड दिए । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका सदस्य–सचिव घिसिङले सरोकारवालसँग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउँदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह÷सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
उक्त अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहालले विगतमा बृहत् राष्ट्रिय खेलकुदमा समावेश भएका खेललाई लक्षित गरी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक सङ्ख्यालगायतका बारे अनुमानित खाका प्रस्तुत गरेका थिए ।
मुख्य प्रशिक्षकहरूले खेल सामाग्री, पूर्वाधार, खेलाडीको प्रशिक्षणलगायतका अवस्था बारे सदस्य–सचिव घिसिङलाई अवगत गराएका थिए ।
सदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षण
       राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टङ्कलाल घिसिङले बिहीबार भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् ।
       सुरुमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको प्रशासनिक भवनको निरीक्षण गरेका सदस्य–सचिव घिसिङ त्यसपछि अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेका पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो गएका थिए । पूर्वाधारको निरीक्षण गर्नुअघि सदस्य–सचिव घिसिङ तालिम तथा प्रशिक्षण विभागले सातदोबाटौ मै आयोजना गरेको विभिन्न २२ खेलका मुख्य प्रशिक्षकहरुसंगको छलफल कार्यक्रममा सहभागी भए ।
       त्यसपछि सदस्य–सचिव घिसिङले परिसर हातामा रहेका सुटिङ रेन्ज, फिटनेस सेन्टर, पौडी पोखरी, बक्सिङको प्रशिक्षण स्थल र कराँते हलको निरीक्षण गरेका थिए ।
Comment