सुरोज र पविनको जोडीको विजयी सुरुवात

नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगल तर्फ विजयी सुरुवातका साथ दोस्रो चरणमा प्रवेश गरेका छन् । महर्जन र लिनथेपको जोडीले बाह्रबिसेका राजकुमार तामाङ र अजय लामाको जोडीलाई २१–९, २१–१९ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानी बारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा एपिएफका सुमन लिम्बु र प्रनिश सिंह ठकुरीको जोडीले पनि दोस्रो चरणमा स्थान बनायो । लिम्बु र ठकुरीले मनकामना स्पोर्टस्का विशाल बस्नेत र राजु थापाको जोडीलाई १६–२१, २१–१२, २२–२० को कठिनका साथ पराजित गरे । यस्तै बालकुमारी रिमिक्सका दिप्रीश बज्राचार्य र सुमन शाक्यको जोडीले दोस्रो चरण प्रवेश गर्ने क्रममा सुर्खेतका नरेन्द्र बम र कबिर के.सी.को जोडिलाई २१–१४, १७–२१, २१–१६ ले हराए ।
शीर्ष २० वरीयता बाहेकका पुरुष युगल तर्फको अन्य खेलमा बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडी, १६ फिदरका अभिषेक बोस र सुजन थापाको जोडी, नवलपरासीका रोशन कुमाल र किरण महतोको जोडी, १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी, एपिएफका एसिया जवेगु र नवीन सिलवालको जोडी तथा चितवनका विधान गुरुङ र सूर्य दर्शन ब्याडमिन्टन क्लबका दीपक रानाको जोडीले पनि दोस्रो चरणमा स्थान पक्का गरे ।
गिरी र न्यौपानेको जोडीले पिस फिटनेस क्लब, पेप्सीकोलाका सञ्जय कपाली र योगेश खड्काको जोडीलाई २१–१७, १९–२१, २१–७ ले, बोस र थापाको जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१९, २२–२० ले, कुमाल र महतोको जोडीले सुर्खेतका करण बैगर र पूर्णबहादुर सिंहको जोडीलाई २१–१९, २१–१३ ले, खनाल र महर्जनको जोडीले सुर्खेतका जित प्रसाद लामिछाने र अनिल मल्लको जोडीलाई २१–१५, १८–२१, २२–२० ले, जवेगु र सिलवालको जोडीले सेनाका विवेक चौधरी र आयुष्मान् नागरीको जोडीलाई २१–१८, २१–१२ ले तथा गुरुङ र रानाको जोडीले चौताराका कैलाश श्रेष्ठ र बाह्रबिसेका सुरेन्द्र श्रेष्ठको जोडीलाई २१–१७, २१–१२ ले पराजित गरे ।
यसै गरी जित निकाल्ने क्रममा सेनाका गोकुल जोरा र दिवस शंकरको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–१०, २१–८, बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले नवलपरासीका अक्षय के.सी. र केवल श्रेष्ठको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले तथा बाह्रबिसेका अभिषेक गुरुङ र त्रिपुरा सुन्दरीका आशिष् तामाङको जोडीले सुर्खेतका दीपेश चौधरी र निरञ्जन चौधरीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गरे ।
Comment