खेलकुद विकासमा अग्रणी बन्दै धार्चे

धार्चे गाउँ पालीका खेलकुद विकास समितिको आयोजनामा दुई दिने नेपाल एतीमी मार्सल आर्ट क्योकुसीन कराँते प्रतियोगिता सम्पन्न भयो ।  प्रतियोगितामा वीरगन्ज टिम तीन स्वर्ण, तीन रजत र तीन कांस्य पदक सहित पहिलो भयो । यसै गरी, काठमाडौँ बाइसधारा डोजो र मनमैजु डोजाको संयुक्त टोली दोस्रो भयो । वीरगन्जका जुगुली दास पुरुष तर्फ तथा रोल्पाकी जोबनसरी घर्ती मगर उत्कृष्ट फाइटर घोषित भए ।
प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई प्रमुख धार्चे गाउँ पालिका अध्यक्ष सन्त बहादुर गुरुङले पुरस्कार वितरण गरे । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का कानुन शाखाका प्रमुख नारायण राज अर्याल, गाउँ पालिका उपाध्यक्ष फुलमाया गुरुङ, नेपाल एतीमी क्योकुसीन कराँते मार्सल आर्ट सङ्घका अध्यक्ष  सिहान प्रदीप थापा, आयोजक टोलीका अध्यक्ष सागर गुरुङ, धार्चे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पोख्रेल, धार्चे गाउँ पालिका शिक्षा तथा खेलकुद विभाग सचिव मञ्जु पौडेल, क्योकुसीन कराँते सङ्घका कोशाध्यक्ष मञ्जु थापा आचार्य, सङ्घका सदस्य विशाल खड्का लगायतको उपस्थिति थियो । खड्का प्रतियोगिताका मेन जुरी समेत थिए ।
नेपाल सिन क्योकुसीन कराँते सङ्घका महासचिव कुमार श्रेष्ठ र  उपाध्यक्ष रामहरि आले मगरको पनि कार्यक्रममा उपस्थिति थियो ।चर्चित निर्माता राजेन्द्र गौतमको पनि उपस्थिति थियो । प्रतियोगितामा २२ जिल्लाका १सय २० जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको लागत करिब १९ लाख रुपैयाँको हाराहारीमा रहेको आयोजक कमिटीका प्रमुख सागरले बताए ।
सागर गाउँ पालिका खेलकुद विकास समितिको अध्यक्ष भएको ६ महिनाको अन्तरालमा यो पहिलो प्रतियोगिता हो । वर्षा याम सुरु भएका कारण पहिलो प्रतियोगिता भएको उनले बताए । आयोजक कमिटीका प्रमुख सागरले २०१८ मा हंगेरीको बुढापेस्टबाट एतीमी कराँतेको तेस्रो डान डिप्लोमा पुरा गरेको सङ्घ अध्यक्ष थापाले जानकारी दिए । उनले विशेषज्ञ प्रशिक्षण पनि लिएका थिए ।
अध्यक्ष सागर खेलकुदमा लाग्दा प्राप्त ज्ञानलाई उपयोग गर्दै तल्लो तह देखि खेलकुदको विकास गर्ने चाहना सहित गाउँ पालीका खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारी लिएको बताए । गोरखामा २२ जिल्लाको सहभागितामा यसरी राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनुलाई दुर्लभ सफलताको रूपमा लिइएको छ । हाइ अल्टीच्युड भएको सो स्थानको प्रतियोगिताको आगामी संस्मरणले त्यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास लिएको अध्यक्ष सागरले बताए । अध्यक्ष सागरले जनवरी महिनामा गाउँ पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने जानकारी दिए ।
प्रतियोगिताका हरेक तौल समूहका विजेताले १० हजार, उपविजयीले ५ हजार तथा तेस्रो हुने खेलाडीलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।  
Comment