सदस्य–सचिव घिसिङद्वारा पदवहाली

       राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टङ्कलाल घिसिङले मङ्गलवार पदवहाली गरेका  छन् । त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको बिमा सम्बन्धमा कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए ।
          घिसिङलाई सोमबारको मन्त्री परिषद् बैठकले राखेपको सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअघि मङ्गलवारै सदस्य–सचिव घिसिङले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरे । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले नवनियुक्त सदस्य–सचिव घिसिङलाई नियुक्ति पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए ।
          कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले काम काज सही र सरल ढङ्गले अगाडि बढाउनु पर्ने बताउँदै खेलाडीको मनोबल उच्च बनाउन र पूर्वाधार विकासमा जोड दिनु पर्ने बताए । मन्त्री गहतराजले मन्त्रालयसँग जबाफदेही हुँदै खेल सङ्घसँग घनिष्ठ सम्बन्ध राख्दै काम अगाडि बढाउनु पर्ने बताउँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
          खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राखेपले एउटा योग्य नेतृत्व पाएको धारणा व्यक्त गर्दै नवनियुक्त सदस्य–सचिवलाई अवसर र चुनौती दुवै रहेको बताए ।
          राखेपका उपाध्यक्ष शिव कोइरालाले विद्युत्मा कुलमान घिसिङले जस्तै खेलकुदमा नवनियुक्त सदस्य–सचिवले उदाहरणीय र प्रशंसनीय कार्य गर्ने विश्वास व्यक्त गरे ।
          नवनियुक्त सदस्य–सचिव घिसिङले नेपाल सरकारले जुन विश्वास र जिम्मेवारी सुम्पिएर पठाएको छ त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय टोलीको सुधार गर्नु पर्ने आवश्यकता औँल्याए । नेपाल रग्बी सङ्घका अध्यक्ष घिसिङले उक्त पदबाट राजीनामा दिइसकेका छन् ।
Comment