अस्मिता उपाधि भिडन्तमा 


नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बक्सिङ सङ्घको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे ।
पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदिप श्रेष्ठबाट वाक ओभर पाउँदै फाइनलमा प्रवेश गरे । फाइनलमा उनको भेट भीपीबीसीका उपास गुरुङसँग हुने छ । अर्को सेमिफाइनलमा उपासले स्विटका आङ पेम्बा शेर्पालाई हराएका थिए । पुरुष ५७ केजीमा एपीएफका पूरण राईले एचटुओका बुद्ध ग्याल्मो लामा तथा बक्समान्डुका सुरज महर्जनले कञ्चनपुरका रञ्जन भट्टलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाए । पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले दाङका अनिल पुन मगर तथा कञ्चनपुरका महेन्द्र चन्दले बाँकेका नवीन घर्तीलाई पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६३ केजीमा आर्मीका दोलबहादुर चौधरीले थानकोटका मनीष श्रेष्ठ तथा एपीएफका सोनाम सार्कीले कास्कीका सागर परियारलाई निराश पार्दै फाइनलमा पुगे ।
महिला ४८ केजीमा नक्सालकी सुषमा तामाङले आरडीएसकी रमिशा श्रेष्ठ र एचटुओकी अस्मिता दुवालले एपीएफकी सावित्री तामाङ, ५० केजीमा नक्सालकी डेनीका राईले कास्कीकी सोनिया बरुवाल र एपीएफकी माला राईले बक्समान्डुकी प्रतीक्षा अर्याल तथा ५२ केजीमा नक्सालकी शिला राईले आर्मी ‘बी’ की आरती तामाङ र आर्मीकी ललिता महर्जनले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै फाइनल यात्रा तय गरे ।

Comment