पारा माउन्टद्वारा पदक विजेता सम्मानित


बानियाँटारस्थित पारा माउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मङ्गलवार सम्मान गरेको छ । विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
जर्मनीमा अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा ३ नेपाली पुरुष खेलाडीले सहभागिता जनाएका थिए । तीनै खेलाडी दोहोरो पदक जित्न सफल भएका थिए ।
दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले चेम्निज ओपनमा पनि दोहोरो स्वर्ण जितेका थिए । त्यस्तै १३ औँ सागका कांस्य विजेता मुकुन्द्र महर्जनले १ स्वर्ण र १ कांस्य जित्न सफल भएका थिए । सुमन तिम्सिनाले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए । सुमन पारा माउन्ट एकेडेमीकै प्रशिक्षक हुन् । सोही अवसरमा प्रतियोगितामा अफिसियलका रूपमा सहभागी स्वच्छम गुरुङ पनि सम्मानित भए ।
नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसी, पारा माउन्ट एकेडेमीका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायतले उनीहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

Comment