विष्णु र उमेशलाई उपाधि

विष्णुप्रसाद बस्नेत र उमेश धितालले कागेश्वरी मनोहरा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
मुलपानीको अमरसिंह चोकस्थित वडा ७ को कभर्डहलमा भएको फाइनलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१–९ र २१–८ को सोझो सेटमा पराजित गरे ।
कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी मनाहोरा नगर खेलकुद विकास समितिको तत्त्वावधानमा भएको प्रतियोगितामा मनोज खड्का र हरि थापा तथा सिद्धार्थ लामा र अजम्बर श्रेष्ठको जोडी तेस्रो  भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र १ हजार नगद पुरस्कार हात पारे । सिद्धार्थ र अजम्बरको जोडी वडा ५ का हुन् भने बाँकी सबै वडा ९ का हुन् ।
विजेतालाई कागेशवरी मनोहराका मेयर कृष्णहरि थापा, वडा ७ का अध्यक्ष जीवन थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी राजाराम सिलवाल, अमरचन्द्र बोहरा, नेपलिज तेक्वान्दो एकेडेमीका महासचिव तीर्थराज घिमिरेलगायतले एक कार्यक्रमबिच पुरस्कार वितरण गरे । दुई दिने प्रतियोगितामा १३ जोडीले पुरुष डबल्समा स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित प्रतियोगिताको यो पहिलो संस्करण हो ।
Comment