“यस पटक पनि हाम्रो प्रदर्शन स्तरीय हुने छ ”, मुख्य प्रशिक्षक थापा

नेपाल बक्सिङ सङ्घले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ ।
अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडी घोषण गरियो । खेलाडी छनोट गर्न नेपाल बक्सिङ सङ्घले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त छनोटको आ–आफ्नो ५ तौल समूहमा पहिलो भएका पाँच खेलाडी मध्येबाट ४ खेलाडी छनोट गरिएको हो ।
विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पूरण राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भूपेन्द्र थापा मगर रहेका छन् । सनिल र भूपेन्द्र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।
यस प्रतियोगितामा टोलीको प्रशिक्षकको रूपमा मुख्य प्रशिक्षक प्रकाश थापा मगर सहभागी हुने छन् । प्रकाशले विगत केही प्रतियोगितामा जस्तै यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शनको विश्वास व्यक्त गरेका छन् । विगतको भन्दा यस पटकको विश्व च्याम्पियनसिपमा स्तरीय प्रदर्शनको आशा राखेको प्रकाश बताउँछन् ।
Comment