प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा

नेपाल बक्सिङ सङ्घको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले जानकारी गराए । पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।
प्रत्येक तौल समूहमा कम्तीमा १० हजार नगद पुरस्कार राखिएको छ । प्रायोजक बढेमा पुरस्कार राशिमा पनि वृद्धि गर्न हुन सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गर्ने तयारी रहे पनि यकिन भई नसकेको बताइएको छ । कभर्डहलमा सम्भव नभए काठमाडौँमै प्रतियोगिता हुने छ ।
Comment