तेक्वान्दो सङ्घमा राणाको निरन्तरता

 नेपाल तेक्वान्दो सङ्घको अध्यक्षमा प्रकाश शमशेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिवार भएको चौथो अधिवेशनबाट राणा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । राणाले २०७० सालदेखि लगातार सङ्घको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बिर्तामोड मा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
यसै गरी उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रूपमा चयन भए । उपाध्यक्षका अर्का उम्मेदवार भोजबहादुर शाहले अन्तिम समयमा नाम फिर्ता लिएपछि रेग्मी, पोखरेल र राई सर्वसम्मत भएका हुन् । यसै गरी महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिम मिया धोबी सर्वसम्मत रूपमा चयन भए ।
यसै गरी सदस्यहरूमा साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट, कुमार लामा घिसिङ, र कोसिस खड्का सर्वसम्मत रूपमा चुनिए ।
चौथो अधिवेशनको उद्घाटन सङ्घीय सांसद प्रमोद यादवले गरेका थिए । उनले तेक्वान्दो देशलाई सर्वाधिक पदक दिलाउने खेल भएको बताउँदै राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए  । यसै गरी सङ्घीय सांसद इस्तियाक अहमद खान, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटी, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घका महासचिव फणीन्द्र पौडेललगायतले चौथो अधिवेशन सफलता र नयाँ पदाधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिम मिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसै गरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द्र बहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीलाई नगद ३० हजार, राईलाई १५ हजार र नेपालीलाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई प्रसंशापत्र सम्मानित गरिएको थियो ।
अधिवेशनमा ५६ जिल्ला सङ्घका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने थियो । अध्यक्ष राणाले खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मङ्सिर भित्र प्रदेश सङ्घको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने जानकारी दिए । उनले देशका विभिन्न पालिकाहरूमा तेक्वान्दो विकास समिति गठनको काम पनि निरन्तर रूपमा भइरहेको बताए ।
२०३९ सालमा नेपाल मार्सल आर्ट्स सङ्घअन्तर्गत रहेको तेक्वान्दो २०४६ पछि छुट्टै सङ्घका नाममा स्थापित भएको हो । लामो समय तदर्थ रूपमा सञ्चालन हुँदै आएको सङ्घको २०६६ मा वीरगन्जमा पहिलो पटक लोकतान्त्रिक विधिबाट पदाधिकारी चयन गरिएको थियो । यसै गरी सङ्घको २०७० मा दोस्रो र २०७४ मा तेस्रो अधिवेशन सम्पन्न भएको थियो ।
यस अघि राष्ट्रिय खेलकुद परिषद्ले सूचना जारी गर्दै तेक्वान्दो सङ्घको अधिवेशन स्थगित गर्न सूचना जारी गरेको थियो ।
Comment