नोर्बुको योगदानको सही कदर

जुन समय तेक्वान्दोको विश्व च्याम्पियनसिपमा पुम्से स्पर्धा समावेश भयो, त्यसै समय छनोट भएर पनि केही प्राविधिक कठिनाइका कारण विश्व च्याम्पियनसिप गुमाएको अनुभव प्रशिक्षक नोर्बु लामासँग थियो । यसै अनुभवका कारण उनी पुप्सेमा पनि सक्रिय भए । स्युचाटार तेक्वान्दो डोजाङमा पुम्सेको राम्रो प्रशिक्षण हुन थाल्यो ।
सुदूर पश्चिममा भएको छैटौँ राष्ट्रिय खेलकुदमा पुम्से समावेश भएको थियो । त्यसो त कोरियाली प्रशिक्षक क्वाङ योङ डालका कारण प्रहरी टोली पुम्सेमा सुरुवाती दिन देखि नै अब्बल  थियो । नोर्बु प्रशिक्षित स्युचाटारको साख पनि त्यत्तिकै थियो ।
नोर्बुको त्यो मेहनतको प्रतिफल काठमाडौँमा भएको १३ ओ दक्षिण एसियाली खेलकुदमा देखिएको थियो । जहाँ नेपाली पुम्से टोलीले ७ स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो । उनी सहित कोरियाली प्रशिक्षक क्वाङ योङ, प्रशिक्षक टार्जन सुब्बाका साथमा मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठको भूमिका पनि कम्ती थिएन ।
यसै दक्षिण एसियाली खेलकुदको पुम्से स्पर्धामा नोर्बुको नेतृत्वमा रहेको स्युचाटार तेक्वान्दो डोजाङकी सञ्जिला तिम्सिनाले स्वर्ण पदक जितिन् भने अस्मिन राउतले दुई कांस्य पदक जिते । यसै गरी, अस्मिता खड्काले ग्योरोगीमा कांस्य दिक जितिन् ।
काभ्रे, चौदी देउराली गाउँपालिका मादनका नोर्बुका लागि स्युचाटार डोजाङ नै कर्मभूमि बनेको तीन दशक हुन लागी सकेको छ । ०५० मा स्थापित यो डोजाङले पाँच पटक बृहत् प्रतियोगिताको आयोजना गरेको छ । यस पछि कोभिडको महामारीले सिङ्गो संसार जस्तै उनको डोजाङको गतिविधि पनि प्रभावित भयो । तथापि अन्य केही प्रतियोगिता भएका छन् ।
यस बिचमा नेपालमा भएको नेपाल ओपन र कोरियन एम्बसडर कपमा स्युचाटारका खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । भर्खरै भएको कोरियन एम्बसडर कपमा सफलता पाउँदै यसै डोजाङका राम गोले र लक्ष्मण गोलले अन्तर्राष्ट्रिय कोरियन एम्बसडर कपमा सहभागिताको अवसर पाएका छन् ।
पुम्सेको एक मात्र सेकेन्ड क्लब रेफ्रि नोर्बुले जी वान प्रतियोगितामा रेफ्रिको भूमिका निर्वाह गरी सकेका छन् । अफीसीयल प्रतियोगितामा दक्षिण एसियाली खेलकुद उनको महत्त्वपूर्ण प्रतियोगिता हो ।
हाल ग्रेडिङ कमिटी प्रमुख छैटौँ डानका नोर्बु इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि नेपाली टोलीको प्रशिक्षक थिए । सोही प्रतियोगितामा नेपाली महिला टोली क्वार्टर फाइनल प्रवेश गरेको थियो । यसै गरी, २३ औ एसियन कपमा पार्वती गुरुङ र कमल श्रेष्ठको जोडी सहभागी थिए ।
नेपाली तेक्वान्दोमा गरेको तीन दशक भन्दा बढी समयको योगदानमा नोर्बुका सम्झन लायक थुप्रै विषय थिए । यसैको सम्मान स्वरूप उनी राष्ट्रिपतीबाट सुकुर्ती  पदकबाट विभूषित भए ।
उनले आफ्नो मेहनतको सरकारको तर्फबाट मूल्याङ्कन र कदर भएकोमा खुसी छन् । साथमा आगामी दिनमा थप मेहनत गर्न उत्साह मिलेको बताउँछन् ।
यस भन्दा अघि नै   खेलकुदमा गरेको योगदानका कारण नागार्जुन नगरपालिकाले उनलाई उत्कृष्ट प्रशिक्षकको रूपमा ५१ हजार रुपैयाँले सम्मानित गरेको थियो ।
Comment