समूह विजेता बन्दै पुलिस अन्तिम आठमा

विभागीय टोली नेपाल पुलिस क्लब वाई वाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा बुधवार गण्डकी प्रदेशलाई पराजित गर्दै समूह बी बाट विजेताको रूपमा अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ । पुलिसले समूह चरणमा तीन खेलमा विजयी बन्दै कुल ९ अङ्क जोड्न सफल भएको हो । पुलिसले गण्डकीलाई २५–१४, २५–१४, २५–१८ ले हराएको हो । पुलिससँग पराजित भएको गण्डकी प्रदेश पनि समूह उपबिजेताको रूपमा अन्तिम आठमा स्थान बनाएको छ ।
यस्तै सोही समूहको अर्थहीन खेलमा मणि मुकुन्द भलिबल क्लबले दावाँली मिलन क्लबलाई ३–१ को सान्त्वना जित निकाल्यो । मणि मुकुन्दले दावाँलीलाई २५–१६, २१–२५, २५–१५ र २५–२३ ले पराजित गरेको हो ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा भारतीय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले सनसनीपूर्ण खेलमा गलकोट स्पोर्टस् क्लबलाई ३–१ ले हरायो । हेल्प नेपालले गलकोटलाई २५–१८, २२–२५, २५–२२ र २५–१९ ले पराजित गर्दै समूह ए को विजेताको रूपमा क्वाटर फाइनल प्रवेश गरेको हो । यस समूहबाट गलकोट स्पोर्टस् क्लब उपविजेता भयो ।
चैत्र महिनामा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।
च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।
Comment