मण्डे र मुकुन्द्र जर्मनी जाने


कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाँदै छन् ।
अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल कातामा मण्डे तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागमा मन्डेले दोहोरो स्वर्ण तथा मुकुन्द्रले कांस्य जितेका थिए ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले एक कार्यक्रमबिच बिदाइ गरे ।
सो अवसरमा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वास लामाले खेलाडीलाई ट्रयाकसुट प्रदान गरेका थिए । साकिरले खेलाडीको खाना÷बसोबासको पनि प्रायोजन गरेको मन्डेले जानकारी गराए ।

Comment