टेबल टेनिस टोली दोहा जाने

पच्चीसौं एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार कतारको दोहा प्रस्थान गर्दै छ ।
सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् । महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन् । खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबल टेनिस सङ्घले जनाएको छ ।
टोली नेतामा टेबल टेनिस सङ्घका केन्द्रीय अध्यक्ष चतुरानन दराज वैद्य, प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जीव ढुङ्गेल र शङ्कर गौतम तथा निर्णायकमा तेजेन्द्रसिंह महरा रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबिच बिदाइ गरे ।
Comment