स्नुकर टोलीको स्वागत

नेपाल स्नुकर, बिलियर्ड तथा पुल सङ्घले ३६ औँ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएको नेपाली टोलीको शनिवार स्वागत गरेको छ  ।
सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरूलाई सङ्घका अध्यक्ष चार पटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
रेगन श्रेष्ठले प्रिक्वाटर फाइनलसम्मको यात्रा तय गरे । लिगमा रेगनले ४ खेल मध्ये ३ मा जित हात पार्दै अन्तिम ३२ का लागि छनोट भएका थिए । उनले लिगमा कतारलाई ४–३, युएईलाई ४–२ र इराकलाई ४–३ ले पराजित गरेका थिए । भारत विरुद्धको खेलमा भने रेगन ४–० ले पछि परे ।
अन्तिम ३२ को प्रतिस्पर्धामा रेगनले कतारलाई ४–३ ले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका  थिए । प्रिक्वाटरफाइनलमा भने रेगन इरानसँग ४–० ले रोकिए । प्रतियोगितामा रेगनले ८३ अङ्कको ब्रेक गर्दै ४२ खेलाडी सहभागी मध्ये ११ औँ स्थान हात पारे ।
अर्का खेलाडी निर्मल बोगटीले समान २–२ खेलमा जित÷हार आत्मसात् गरे । उनले जोर्डनलाई ४–२ तथा कुवेतलाई ४–३ ले पन्छाएका थिए । निर्मल पाकिस्तानसँग ४–० र कतारसँग ४–३ ले चुके ।
अध्यक्ष मुल्मीले सीमित श्रोत र साधनका बाबजुद खेलाडीले उच्च प्रदर्शन गरेकोमा बधाई दिँदै नेपाली खेलाडी पनि कोही भन्दा कम नभएको सन्देश दिन सफल भएको धारणा व्यक्त गरे ।
नेपाल स्नुकर, बिलियर्ड तथा पुल सङ्घका सचिव समेत रहेका सञ्जयकुमार मुल्मीले टोली प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सङ्घका अनुसार प्रतियोगितामा विभिन्न १९ राष्ट्रका ४२ खेलाडीले सहभागिता जनाएका थिए ।
Comment