बक्सिङ छनोट सुरु

आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रवारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक सङ्घका प्रवक्ता श्याम अवालेले जनाएका  छन् । ५ स्पर्धा समावेश भए पनि खेलाडी सङ्ख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ । विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर      २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने छ ।
पहिलो दिन पुरुष ६७ केजीमा नक्सालका अश्विन धिरज श्रेष्ठले नक्सालकै एबल थापालाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरे ।
त्यस्तै ५७ केजीमा एपीएफ क्लबका पूरण राईले एचटुओका बुद्ध ग्यालमो लामा, दाङका निसम घर्ती मगरले नेपाल प्रहरीका शम्भु राजवंशी, बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका सुदिप श्रेष्ठ र आर्मीका पूरण सुनुवारले अल्फाका रेमन पुनलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।
छनोट सोमबारसम्म चल्ने छ । प्रतियोगिताअन्तर्गत शनिवारका खेलहरू अपराह्न २ः३० बजेदेखि सुरु हुने छन् ।
Comment