रुपेशलाई चेस उपाधि, क्षितिज र कमल शीर्ष तीनमा 

नेपाल बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैसवालले जितेका छन् । सजिलोसिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अङ्क प्राप्त गरेका थिए । उनले ५० हजार रुपैयाँ पाए ।
त्यसै गरी ७ .५ अङ्क प्राप्त गरे पनि प्रोग्रेसिव टाई ब्रेकमा थापाथली चेस क्लबका फिडे मास्टर क्षितिज भण्डारी दोस्रो र सर्लाहीका कमल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः ३० र २० हजार रुपैयाँ पाए । दुई फिडे मास्टर भन्दा पछि रहँदै तेस्रो भएका कमल पनि थापाथलीका खेलाडी हुन् । रुपेसले अन्तिम दिन सुमन लामालाई हराए भने कमलसँग बराबरी गरे । यसै गरी, कमलले आशिष फुयाँलबाट वाक ओभर पाएका थिए । क्षितिजले अर्जुन घिमिरे र राजन सुबेदीलाई हराए । कमलको हकमा सम्भवतः यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो  । विगत एक दशक देखि  राष्ट्रिय स्तरमा समान प्रदर्शन गर्दै आएका कमल प्राय शीर्ष १० भित्र अटाउने गरेका थिए ।
ललितपुर स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भूपेन्द्र निरौला चौथौँ, भक्तपुरका युवा खेलाडी निकेन कुसाथा पाँचौँ, सुमन लामा छैटौँ, गणेशमान दुवाल सातौँ, रौतहटका सुशील चौधरी आठौँ, दोलखाका राजीव कार्की नवौँ र फिडे मास्टर मनि हमाल दसौँ भए ।
पाँच दिने प्रतियोगितामा महिलातर्फ सुजाना लोहनी, अनिषा न्यौपाने, आभा पुडासैनी क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । उनीहरूले नगद १० हजार, ८ हजार र ६ हजार हात पारे ।
यसै गरी सजिन महर्जन ललितपुर उत्कृष्ट भई नगद ७ हजार प्राप्त गरे । अनरेटेड तर्फ सानु भाइ महर्जन प्रथम र विनय राई दोस्रो भए ।
विजयी तथा सहभागी खेलाडीहरूलाई आयोजक क्लबका अध्यक्ष हेरा काजी महर्जनको सभापतित्वमा एक समारोहमा प्रमुख अतिथि राखेपका सदस्यसचिव रमेश सिलवाल, ललितपुरका समाजसेवी प्रकाश नन्दन जोशी, जिल्ला सहकारी सङ्घ ललितपुरका अध्यक्ष माधव दुलाललगायतले पुरस्कृत गरे ।
Comment