कोरियन एम्बासडर तेक्वान्दो शुक्रवारदेखि


नेपाल तेक्वान्दो सङ्घको आयोजनामा १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रवारदेखि हुने भएको छ ।
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मूल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानु चन्दले जनाएका छन् । ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् । १३ औँ दक्षिण एसियाली खेलकुद     (साग) अन्तर्गत पुम्सेमा पदक जितेका प्राय सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
तीन दिने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । व्यक्तिगत स्पर्धाको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।
विगतमा भौतिक रूपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी भर्चुअल रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Comment