अर्याललाई खेतान फाउन्डेसनको कदर पत्र सहित बिदाइ

Manoj Shiama
27 August, 2021 7:51 pm
ब्याडमिन्टन एसियाका एक्रिडियटेड अम्पायर, विश्व ब्याडमिन्टन महासङ्घका सर्टिफाईड लाईनजज एवं  राष्ट्रिय रेफ्रि उदय कुमार अर्याललाई खेतान स्पोर्टस् फाउन्डेसनले ब्याडमिन्टनमा गरेको योगदानको कदर गर्दै कदर पत्र सहित बिदाइ गरेको छ ।
निर्णायक अर्याललाई शुक्रवार एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउन्डेसनको तर्फबाट प्रदान गरिएको कदर पत्र प्रदान गरे ।
सो अवसरमा अर्याललाई फाउन्डेसनका प्रमुख विकास खेतान, अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी लगायतले जापानमा आयोजना भएको पारालम्पिक प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागिता जनाउन लागेकोमा सफलताको शुभकामना सहित खादा लगाएर बिदाइ गरेका थिए ।
अर्याल पारालम्पिकमा ब्याडमिन्टनको लाईनजजको भूमिका निर्वाह गर्न शनिवार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । अर्यालले यस अघि पोल्यान्डको क्याटोविचमा २०१९ मा आयोजना भएको विश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप र हङ्गकङ्गमा अप्रिल २०१९ मा आयोजना भएको ब्याडमिन्टन एसिया मिक्स टिम च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरी सकेका छन् ।