सलाम एयरबाट राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान

,
अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ (आइसिसी) को आयोजनामा ओमानमा सुरु हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टिम सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरू सहित कूल २२ जनाको टिमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका सञ्चालक एवं आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मान सहित बिदाइ गरे ।
आइसिसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबिच ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टिमका खेलाडीहरू सलाम एयर मार्फत आजै ओमानतर्फ प्रस्थान गरेका हुन् ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेल मध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयीको सुरुवात हुने विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टिमको खेल प्रदर्शनले सबैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रबन्धक विनोद दासले नेपालको एक उदयमान व्यापारिक समूह आइएमई ग्रुप र अन्तर्राष्ट्रिय उडानमा ख्याति कमाउँदै आएको सलाम एयरको यो सहयोगले आफू र आफ्नो टिमलाई हौसला प्रदान गरेको बताए ।
आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै भविष्यमा समेत यस्तै सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
Comment