नुवाकोट तेक्वान्दोमा सापकोटा

नुवाकोट जिल्ला तेक्वान्दो सङ्घको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित भएका छन् । नुवाकोटको बटारमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उनी लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
सङ्घको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा शरण घले र कोषाध्यक्षमा  रामचन्द्र तामाङ चयन भए । यस्तै सदस्यहरूमा ध्रुवकुमार रावल, शिवलाल श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण  श्रेष्ठ र महेन्द्र थापा मगर छन् ।
सङ्घको नवनिर्वाचित पदाधिकारीहरूले एक कार्यक्रमका बिच शपथ ग्रहण गरेका छन् । समारोहका प्रमुख अतिथि नुवाकोट तेक्वान्दो सङ्घका संरक्षक, पर्यटन व्यवसायी सुमन पाण्डेले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा उनले तेक्वान्दो खेलाडी उत्पादनमा कहलिएको जिल्लाका रूपमा परिचित नुवाकोटले आगामी दिनहरूमा अरू राम्रा खेलाडी उत्पादन गर्न आवश्यक भएको औँल्याए ।
यस्तै बागमती प्रदेश अध्यक्ष केशव पुरीले तेक्वान्दोका राम्रा खेलाडी उत्पादनमा कमी आएकोले त्यसको कारण खोजेर जिल्ला सङ्घहरू अघि बढ्नु पर्ने बताए । डोजाङका प्रमुखहरूलाई बलियो बनाएको खण्डमा तेक्वान्दोको विकास हुने पुरीको भनाई थियो ।
एसियाली खेलकुद पत्रकार महासङ्घका कोषाध्यक्ष निरञ्जन राजवंशी, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बुद्धि तामाङ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की,  जिल्ला तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष  धननारायण चित्रकार, निवर्तमान अध्यक्ष सुमन अधिकारी लगायतले नुवाकोट तेक्वान्दो सङ्घ साझा समझदारी र साझा सहकार्य गरी अघि बढेकोले जिल्लालाई तेक्वान्दोको क्षेत्रमा उत्कृष्ट बनाउन नवनिर्वाचित कार्य समिति सफल हुनेछ भन्ने अपेक्षा गरिएको बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले तेक्वान्दोको खेलाडी उत्पादन गर्नलाई प्रशिक्षणका क्रियाकलाप सञ्चालन गर्ने, अघिल्ला समितिको अधुरा क्रियाकलापलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।
विदुर नगरपालिका वडा नम्बर २ मा रहेको कभर्ड हलमा तेक्वान्दोको खेल सञ्चालन गर्नलाई विशेष प्राथमिकता दिने र खाली समयमा मात्र अन्य खेल सञ्चालनलाई अनुमति दिने अध्यक्ष सापकोटाले बताए ।
सङ्घले वर्षमा एक पटक प्रतियोगिता सञ्चालन गर्ने, पालिका स्तरीय समिति गठन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने समेत बताउनुभएको छ ।
कोरोना भाइरसको कारण तेक्वान्दो लगायतका खेलकुदको क्षेत्र समेत नराम्ररी प्रभावित बनेको छ । खेलाडीहरूलाई विशेष प्राथमिकतामा राखेर कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन विशेष  पहल गर्दै आएको र कतिपयले खोप लगाइसको समेत जिल्ला तेक्वान्दो सङ्घ नुवाकोटले जनाएको छ ।
Comment