इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

गणतन्त्र इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर, पानी पोखरी, काठमाडौँस्थित कार्यालयमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलवार बिहान आयोजित एक कार्यक्रमबिच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झन्डोत्तोलन गरे । उक्त अवसरमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।
कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुग्ने विश्वासका साथ  आफूले प्रयास गरिरहेको बताए ।
उनले दुई देशबिचको आपसी व्यापार तथा अनुभव आदान प्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनु पर्ने कुरामा जोड दिए ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्र मध्य सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश हो । नेपाल र इन्डोनेसियाबिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ । दुई देश बिच पर्यटन लगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।
झन्डोत्तोलन कार्यक्रममा वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Comment