दाङमा पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने 

 दाङमा पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ दाङको आयोजना घोराहीमा प्रतियोगिता हुन थालेको हो । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय प्रतियोगिता आगामी पुस १३ गतेदेखि १६ गतेसम्म चार दिन गर्न लागिएको जानकारी दिएको हो । कोरोनाका कारण सुस्त बनेको खेलकुद क्षेत्रलाई चलायमान बनाउँदै खेलाडीको स्तर वृद्धि र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा देशका सातै प्रदेशका खेलाडीहरूको सहभागिता हुनेछ ।
केन्द्रीय अध्यक्ष घर्ती मगरले प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुद क्षेत्रको विकासमा मद्दत गर्ने दाबी गरे उनका अनुसार प्रतियोगितामा सेमिनार समेत हुने भएकाले खेलाडी, प्रशिक्षक, अतिथिलगायतका करिब सात सयको सहभागिता हुने बताए । अध्यक्ष घर्तीले हाप्किडो खेलको विकाससँगै प्रत्येक युवालाई सभ्य, अनुशासित नागरिक बनाउने उद्देश्यले सङ्घले विद्यालय तहदेखि नै खेलाडी उत्पादनलाई प्राथमिकता दिएको बताए । साथै हप्किडोले युवाहरूको शारीरिक वृद्धि विकास, आत्मविश्वास र आत्मरक्षाका लागि सहयोग पुर्‍याउने बताए । पुसमा हुने प्रतियोगितामा खेलाडीहरूले सेल्फ डिफेन्स, डेमोस्ट्रेशन, हाई फल, लङ फलमा प्रतिस्पर्धा गर्नेछन्
। प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत २०-२५, २५-३०, ३०-३५, ३५-४०, ४०-४५, ४५-५०, ५०-५५, ५५-६०, ६०-६५ र ६५-७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले बताए । उनका अनुसार प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा बिना शुल्क खेलाडीहरू सहभागिता हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ग्लोबल हाप्किडो फेडेरेशनका अध्यक्ष तथा ग्राण्ड मास्टर हि क्वान ली’ लगायतका ग्राण्ड मास्टरहरूको उपस्थिति रहने हाप्किडो संघका केन्द्रीय महासचिव सुवर्ण बिसीले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रको विकाससँगै सञ्चार माध्यमहरूलाई समेत खेलप्रति आकर्षित गर्ने बताए । नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घले सन् २०२२ को अगस्ट महिनामा हाप्किडो वर्ल्ड च्याम्पियनसिप 2022 काठमाडौँमा गर्न लागेको उक्त कार्यक्रममा जानकी दिइयो । उक्त च्याम्पियनसिपमा विभिन्न ५० देशकाको सहभागिता गराउने लक्ष्य राखिएको सङ्घले जनाएको छ ।
Comment