भीम र बसन्ती उत्कृष्ट खेलाडी

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बागलुङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए ।
एनआईटीएफको २४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँको साङ्लास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरूलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो । सोही अवसरमा नेपालगन्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए । तीनैले प्रशंसा पत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौँका मनोज खड्का आउट स्टेन्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट सङ्घ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित भए । उनीहरूलाई प्रशंसा पत्र प्रदान गरियो । विगत ३० वर्षदेखि हालसम्म आईटीएफ तेक्वान्दोमा सक्रिय नेपालगन्जकी ५४ बर्सिया फात्तिमा बानुलाई पनि विशेष अवार्डबाट सम्मान गरिएको थियो ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव एकेन्द्र कुँवर, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र एनआईटीएफका अध्यक्ष अञ्जन धमलाले पुरस्कृत गरे । त्यसअघि वार्षिकोत्सवको उपाध्यक्ष कोइरालाले उद्घाटन गरेका थिए ।
एनआईटीएफले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही क्रममा उक्त कार्यक्रम पनि आयोजना गरिएको हो । त्यसै अवसरमा सिनियर डान ग्रेडिङबाट ५ जना छैटौँ डानमा पदोन्नती भएको जानकारी दिइयो । तेस्रो र चौथो डानका लागि ग्रेडिङ सञ्चालन भइरहेको सङ्घले जनाएको   छ ।
Comment