जोइन ह्याण्डस् फर नेपाल र नेपाल खेलकुद महासङ्घद्वारा राहत वितरण
Published On :
10 July, 2021 10:03 am
By :
Manoj Shiama
जोइन ह्याण्डस् फर नेपाल र नेपाल खेलकुद महासङ्घले बहिरा तथा दृष्टिविहीन खेलाडीहरूका लागि राहत वितरण गरेको छ । महासङ्घले जोइन ह्याण्डस् फर नेपालको सहयोगमा जोरपाटीको नयाँ बस्ती स्थित अस्थायी बसोबास गरिरहेका बहिरा तथा दृष्टिविहीन कराँते र जुडो खेलाडीहरूलाई राहत वितरण गरेको हो । महासङ्घ र जोइन ह्याण्डस् फर नेपालको सहकार्यमा बहिरा तथा दृष्टिविहीन खेलाडीका १७ परिवारलाई ५० हजार बराबरको दैनिक उपभोग्य सामग्रीहरू उपलब्ध गराइएको छ । उपभोग्य सामग्रीहरूमा चामल, दाल, आलु साबुन, नुन, तेल, चाउचाउ, मास्क, स्यानिटाइजरसहित नगद सहयोग रहेको छ ।
कोभिड–१९ का कारण लामो समय लकडाउन भएर दैनिक ज्याला मजदुरी गरी समस्यामा रहेका बहिरा तथा दृष्टिविहीन खेलाडीका परिवारलाई हाल जापानमा बसोबास गरिरहेका जोइन ह्याण्डस् फर नेपालका ११ जना पदाधिकारीहरूले सहयोग गरेका हुन्। श्याम महर्जनको अगुवाइमा जोइन ह्याण्डस् फर नेपाल मार्फत सहयोग गर्नेहरूमा दिनेश महर्जन, राजीव महर्जन, विकास श्रेष्ठ, रमोद महर्जन, सुमित जोशी, अञ्जना डङ्गोल, आकिको महर्जन, सानु महर्जन, ग्रिसमा श्रेष्ठ र लुमा बज्राचार्य रहेका छन् ।
राहत वितरण जोइन ह्याण्डस् फर नेपालका मुख्य अगुवा श्याम महर्जन र नेपाल खेलकुद महासङ्घका महासचिव धर्म कुमार श्रेष्ठको पहलमा भएको थियो । खेलाडीका परिवारलाई राहत वितरण महासङ्घका मानार्थ उपाध्यक्ष कुमार ओझा र महासचिव धर्म कुमार श्रेष्ठले गरेका थिए ।