बहादुरीको कथा कोर्दै निर्जला

सन् २०२१ को ६ जुन नेपाली खेलकुदका लागि एउटा महत्त्वपूर्ण दिन । यसै दिन एक नेपाली महिला निर्जला ताम्रकारले फुल डिस्टेन्स ट्रायथलन पुरा गरेकी थिइन् ।नेपालकी निर्जला ताम्रकारले बेलायतमा युके अल्टिमेट ट्रायथलन पुरा गर्दै यो सफलता पाएकी हुन् । आइरन म्यान डिस्टेन्सको रूपमा रहेको यो सफलता पाउने क्रममा निर्जलाले २२६ किलोमिटर पुरा गरेकी हुन् ।
यो सफलता पाउने पहिलो नेपाली निर्जला अन्य नेपाली महिलाका लागि प्रेरणाको श्रोत पनि बन्न सक्छिन् ।
३८०० मिटर पौडी,१८० किलोमिटर साइक्लिङ र ४२ किलो मिटरको दौडका लागि उनले एकदमै कठोर मेहनत र परिश्रम गरेकी थिइन् ।
पौडीका लागि निर्धारित २ घण्टा ३० मिनेटको समय, साइक्लिङको ८ घण्टा र दौडका लागि तय भएको ६ घण्टा ३० मिनेट भन्दा कम समयमा  सो रेस पुरा गरेकी थिइन् ।१७ घण्टाको कुल निर्धारित समय भएको रेसमा उनले १५ घण्टा १३ मिनेटमा पुरा गरेकी हुन् ।
उनले योजना बनाए अनुसार नै १ घण्टा ५७ मिनेटमा पौडी पुरा गरेकी थिइन् । साइक्लिङ उनको योजना भन्दा १२ मिनेट ढिला ७ घण्टा १२ मिनेटमा तथा दौड योजना भन्दा तीन मिनेट ढिला ५ घण्टा ४८ मिनेटमा पुरा गरेकी थिइन् ।
यिनले पहिलो पटक स्प्रीन्ट ट्रायथलनको रूपमा नेपालमै भएको दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएकी थिइन् ।
यो सफलता पाउने निर्जलाका धेरै लामा सफलताका कथा छन् । त्यो सफलतासँगै थुप्रै सङ्घर्षका कथा पनि छन् ।  कुनै समय नेपाली साइक्लिङको महिला स्पर्धामा उनको एक छत्र पकड थियो । त्यो पनि एक या दुई वर्ष होइन , एक दशकसम्म । सन् २००१ देखि २०१२ नेपालमा निर्जलाको पूर्ण पकड थियो । यही एक दशकमा उनका नाममा अनेकौँ कीर्तिमान रहे । यस बिचमा थुप्रै सङ्घर्षका कथाहरू बुनिए ।
सन् २००६ मा कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुदमा सहभागी भएकी थिइन् । यस बिचमा सन् २००७ उनका लागि महत्त्वपूर्ण साबित भयो । साथमा ऐतिहासिक कदम पनि ।
एभरेस्ट बेसक्याम्प( तिब्बत)सम्म साइकल यात्रा, साथमा ल्हासाबाट काठमाडौँसम्म २२ दिने साइकल टुर । सन् २००८ मा याक एट्याकको रूपमा उनले अन्नपूर्ण सक्र्युट पुरा गरिन् । सन् २००९ मा उनी भारतको हिमाञ्चलमा १० दिने इन्डुरेन्स हिमालयन ट्रेड रेसमा सहभागी भएर जित हात पारिन् । यसै खाले सफलता उनले सिक्किममा पनि हात पारिन् ।
यस पछि एसियाली खेलकुदमा सहभागिता जनाएकी उनले सन् २०१२ मा बेलायतमा भएको रेसमा सफलता पाउँदै यस सफलता पाउने पहिलो नेपालीको रूपमा कीर्तिमान कायम गरिन् । सन् २०१२ मा ओमानमा भएको ट्रान्स हजारमा भएको रेस पुरा गर्दै उनी यो सफलता पाउने पहिलो नेपाली भइन् । सन् २०१२ मा फ्रान्समा भएको साइक्लिङको विश्वकप फाइनल चरणमा उनले सहभागिता जनाएकी थिइन् । नेपालको सन्दर्भमा यो आफैमा एउटा महत्त्वपूर्ण सफलता रहेको थियो ।
सन् २०१० मा उनले संयुक्त अरब इमिरेट्समा ओलम्पिक कमिटी अन्तरगत युसीआइ साइक्लिङ प्रशिक्षण कोर्स पुरा गरेकी थिइन् ।
ट्रायथलनमा संलग्न भए पछि उनको एउटा महत्त्वपूर्ण लक्ष्य रहेको थियो । आइरन म्यान डिस्टेन्सको रूपमा रहने फुल ट्रायथलन पुरा गर्ने । नेपालमै भएको दक्षिण एसियाली खेलकुदमा ट्रायथलन टोलीमा सहभागी उनी सन् २०२० देखि बेलायतमा सपरिवार रहेकी छिन् ।
गएको डिसेम्बर र जनवरीमा उनले यसका लागि प्रशिक्षण सुरु गरेकी थिइन् । उनले लगातारको ६ महिनाको प्रशिक्षण गरेकी थिइन् ।
परन्तु यत्ति धेरै मेहनत र परिश्रमका कारण आर्जित यस सफलता निर्जलाले नेपाली खेलकुदका गरेका सङ्घर्षका यत्ति धेरै कथा छन्, जुन आम नेपालीका लागि सधैँ प्रेरणाको श्रोत बन्न सक्छ ।
हाल बेलायतका आफ्ना सन्तान र श्रीमानसँग बसोबास गर्दै आएकी निर्जलाको पारिवारिक पृष्ठभूमि र नेपालको सामाजिक विकासमा त्यो परिवारको योगदान नै समाचारको विषय बन्न सक्छ । खेलकुद न्युज डटकमले यस बारेमा थप समाचार प्रकाशित गर्ने नै छ । ती हरेक सामाजिक सद्भावका उदाहरण हुन  सक्छन् ।
निर्जलाकै बारे एउटा सत्य के हो भने विगत देखि बर्तमानसम्म उनको जीवन  बहादुरीको कथाले भरिएका छन् । यी नै बहादुरीको लामो शृङ्खलामा ६ जुनको यो उपलब्धि एउटा नयाँ अध्याय हो ।
Comment