सिलवालले किन दिए गुरुङलाई यो जिम्मेवारी

एक पछि अर्को विवादमा अल्झिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल थप विवादमा परेका छन् । उनको राखेप कार्यकक्षमै परिषद् सदस्य सुवास श्रेष्ठसँग भएको झगडा त समाचारका विषय बने । यसका अलावा उनी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ बिचको सम्बन्ध अहिले चर्चामा रहेको छ ।
सरकारले कोरोनाको दोस्रो लहर बढेको कारण १६ वैशाख देखि निषेधाज्ञा गरेको थियो । वैशाखको दोस्रो साता सुरु हुँदा नेपालको भयावह अवस्था देखिइसकेको थियो ।
यसै बिचमा सदस्य सिलवाल भने राखेप सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति झैँ निर्णय गर्ने काममा आफूलाई तल्लीन राखेका थिए । उनले १३ वैशाखका दिन सदस्य राजेश गुरुङलाई गण्डकी प्रदेश अन्तरगतको सबै भौतिक संरचनाको व्यवस्थापन र संरक्षण गर्न जिम्मेवारी सुम्पिँदै पत्र लेखेका छन् ।
सम्बन्धित जिल्ला खेलकुद सङ्घले जिम्मेवारी सम्हाल्ने भए पनि एक जना परिषद् सदस्यलाई जिम्मेवारी दिइनु आश्चर्य जनक भएको छ ।
नेपालको विभिन्न सञ्चार माध्यममा टेन्डर आहान, मैदान निर्माण लगायतका कुरा अनियमितता भएको आरोप लगाइरहेको समयमा यो निर्णयले धेरैलाई सशङ्कित तुल्याएको छ । यत्ति मात्र होइन, गत वर्ष नै ब्याडमिन्टनका सामग्री खरिदमा भएको भ्रस्टाचार भएको ठहर गर्दै छानबिन समितिले प्रतिवेदन बुझाए पनि यसको कार्यान्वयन भएको छैन ।
Comment