पलेशा पारा ओलम्पिक लागि छनौट


नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिक गेम्स २०२० मा छनौट हुँदै प्रतिस्पर्धा गर्ने भएकी छिन् । नेपाल तेक्वान्दो सङ्घले विज्ञप्ति जारी गर्दै पलेशाले वाईल्ड कार्ड मार्फत प्यारालिम्पिक लागि बाटो खुला गरेको जनाएको छ ।
मित्रराष्ट्र जापानको टोकियोमा २०७८ भाद्र १७ देखि १९ गते सम्म आयोजना हुने पारा ओलम्पिकमा गोवर्धनले के. ४४, ५८ केजी मुनिको प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । नेपाली पारा तेक्वान्दो खेलाडीहरूले  २०७८ ज्येष्ठ ७ गते मित्रराष्ट्र जोर्डनको अम्मान सहरमा पारा ओलम्पिकको लागि छनौट प्रतियोगिता खेल्नु पर्नेमा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुनुका साथै उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न विदेशी खेलाडीहरूले तेस्रो मुलुकमा कम्तीमा २ हप्ता आइसोलेसनमा बस्नु पर्ने बाध्यताका कारण छनौट प्रतियोगिताबाट वञ्चित हुनु परेको थियो । छनौट प्रतियोगिताका लागि पलेशा लगायत ६ खेलाडीहरूलाई सङ्घले चयन गरेको थियो । तसर्थ उक्त छनोट खेलबाट वञ्चित भए पश्चात् नेपाल तेक्वान्दो सङ्घले पलेशा र रञ्जना धामी (के.४४, ४९ केजी)को नाम राष्ट्रिय पारा ओलम्पिक कमिटीको समन्वयमा वाईल्ड कार्डको लागि पहल गरेको थियो ।
पलेशा गोवर्द्धन विश्व तेक्वान्दो महासङ्घको १३ औ बरिएता (¥याङ्किङ्ग) मा रहेको र विश्व तेक्वान्दो महासङ्घ एवं अन्तर्राष्ट्रिय पारा ओलम्पिक  कमिटीबाट नेपाललाई १ ओटा मात्रै कोटा दिने व्यवस्था भएकोले नेपाली पारा राष्ट्रिय खेलाडी पलेशा गोवर्द्धनले के.४४, ५८ के.जी मुनि तौल समूहमा वाईल्डकार्ड प्राप्त गर्न सफल भएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले नेपाल तेक्वान्दो सङ्घ अन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ साल देखि नियमित तालिम तथा प्रशिक्षण लिई रहेकी छिन् । पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पटक के.४४, ५८ केजी माथि तेस्रो स्थान प्राप्त गर्न सफल भई मुलुकलाई कांस्य पदक दिलाएकी थिइन् । यस्तै उनले पहिलो पटक कोरियामा आयोजना भएको तेस्रो एशियन अन्ताराष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के४४, ५८ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दै ५ औ स्थान प्राप्त गर्न सफल भएकी थिइन् । सोही वर्ष लन्डनमा आयोजित ७ आँ विश्व पारा तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि ५ औ स्थानमा प्राप्त गरेकी थिइन् । यस्तै पाँचौँ एशियन पारा तेक्वान्दो प्रतियोगिता आममन, जोर्डन २०१९ मा भएको खेलमा के.४४, ५८ केजी माथि ५ औँ स्थानमा र ८औँ विश्व पारा तेक्वान्दो प्रतियोगिता अन्तलया, टर्की मा के.४४, ५८ केजी माथि तौल समूहमा निकै राम्रो प्रदर्शनका बाबजुद ५ औँ स्थान प्राप्त गर्न सफल भएको नेपाल तेक्वान्दो सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल तेक्वान्दो सङ्घ यस ऐतिहासिक सुखद अवसरमा मुलुकको लागि पदक ल्याउनेमा विश्वस्त हुँदै सम्पूर्ण नेपालीहरू, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय पारा ओलम्पिक कमिटी नेपाल लगायतलाई  हार्दिक धन्यवाद ज्ञापन गर्दछ विज्ञप्तिमा भनिएको छ ।

Comment