नयाँ जिम्मेवारीले उत्साहित दुर्गा

सुदूर पश्चिम खेलकुद परिषद्को सदस्य भए पछि ब्याडमिन्टनकी पूर्व खेलाडी तथा हालकी अम्पायर दुर्गा भण्डारीले आफूले पाएको थप जिम्मेवारी बोध महसुस भएको बताएकी छिन् । खेलकुदमै समर्पित कैलालीकी दुर्गा हाल पनि नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ कैलालीकी कोशाध्यक्ष रहेकी छिन् ।
बि.स २०५१ मा ब्याडमिन्टनका प्रतियोगितामा छाउन थालेकी दुर्गा अम्पायर हुनु अघिसम्म ७० को दशकको मध्यसम्म पनि कोर्टमा उत्तिकै व्यस्त रहने गर्थिन् ।
खेलाडीको रूपमा थुप्रै पटक उनले सुदूर पश्चिम च्याम्पियन हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । बि.स २०५८ मा सुदूर पश्चिमकी च्याम्पियन भएकी उनी एक दशक भन्दा लामो समय सुदूर पश्चिमको च्याम्पियन खेलाडी बन्न सफल भइन् । राष्ट्रिय स्तरमा उनको महत्त्वपूर्ण सफलताको रूपमा घरेलु कोर्टमा भएको छैटौँ राष्ट्रिय प्रतियोगिता रहेको थियो । जुन प्रतियोगितामा उनी सम्मिलित सुदूर पश्चिम टोली तेस्रो भएको छ ।
हाल राष्ट्रिय अम्पायर रहेकी दुर्गाले थुप्र अन्तर्राष्ट्रिय प्रतियोगिताको समेत अनुभव बटुली सकेकी छिन् । आफू खेलाडीको रूपमा रहँदा नै खेलकर्मीको समस्या बुझ्दै आएको र यसलाई सहजीकरण गर्न आवश्यक भएको उनी बताउँछिन् । यसै कारण उनी कैलाली जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घमा आबद्ध भइन् ।
प्रकाश चन्दको नेतृत्वको रहेको कैलाली जिल्ला सङ्घ अत्यन्त सक्रिय सङ्घको रूपमा रहेको छ । विगतमा विभिन्न संस्थामा बसेर गरेका कामका अनुभवले नयाँ जिम्मेवारी पुरा गर्ने सहज हुने विश्वास छ ।
Comment