नेपाली तेक्वान्दोमा थपियो शोक 


नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का उपाध्यक्ष दिनेश दाहालको शनिवार निधन भएको छ । उनको कोरोना सङ्क्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए ।
तेक्वान्दोको पहिलो गीत मानिएको ‘छाती माथि सेतो हिमाल, हिउँ जस्तै पहिरन’ बोलको गीत स्व. दाहालले नै गाएका थिए ।
गोकर्णेश्वर दक्षिण ढोका निवासी स्व. दाहाल जनप्रहारका पूर्व सम्पादक थिए भने कमान्डर पोस्टमा पनि आबद्ध थिए । पछिल्लो समय उनी सी पोस्टका सम्पादक÷प्रकाशक थिए ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दिवङ्गत दाहालको शनिवारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्व. दाहालका श्रीमती, १ छोरा र १ छोरी छन् ।
एनटीएका अध्यक्ष खड्काले एक असल तेक्वान्दो प्रेमी गुमाएकोमा दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेका छन् । खड्काले शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।
कोरोनाकै कारण अर्का तेक्वान्दोकर्मी कोभिड १९ महामारीको नेपालमा फैलिएको दोस्रो लहरका नेपाली खेल क्षेत्रले ठुलो क्षति सहेको छ । यस क्रममा नेपाली चेसले दुई जना व्यक्तिलाई गुमाएको छ भने तेक्वान्दोले यस अघि रामु वरुणलाई गुमाइसकेको छ ।

 

Comment