क्योकुसिनका बज्राचार्यको निधन

क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजी प्रसाद बज्राचार्यको मङ्गलवार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण निधन भएको हो ।
गत १६ गते कोरोना सङ्क्रमित भएपछि बज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते बज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कांस्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् ।
स्व. बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कनट्याक्ट कराँते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।इन्डोनेसियामा उनले कांस्य पदक जितेको क्योकुसिन करातेका संस्थापक जगत प्रसाद गौचनले जनाएका छन् । २०३९ सालदेखि क्योकुसिन कराँते खेल्न थालेका स्व. बज्राचार्य २ पटक आफ्नो तौल समूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए ।
नेपाल फुल कनट्याक्ट कराँते महासङ्घका वरिष्ठ उपाध्यक्ष स्व. बज्राचार्यको २०१२ साल वैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । स्व. बज्राचार्यका श्रीमती, १ छोरा र २ छोरी छन् ।
Comment